काठमाडौं।
नेपाली बुद्धिचालका प्रतिभावान खेलाडी सिएम पुरुषोत्तम सिलवालले चीनको शेन्जेनमा सम्पन्न २८औँ एशियन युथ ब्लिट्ज चेसमा चौथो स्थान हासिल गरेका छन्।
एशियाका बलिया युवा खेलाडीहरूबीच भएको प्रतिस्पर्धामा सिलवालको यो नतिजा नेपाली बुद्धिचाल इतिहासकै उल्लेखनीय उपलब्धि रहेको महासंघका अध्यक्ष हेराकाजी महर्जनले जानकारी गराएका छन् ।
चाइनिज चेस संघको आयोजनामा जुलाई २४ सम्पन्न स्पर्धा ३ मिनेट २ सेकेन्ड ब्लिट्ज ९ चरण स्विस प्रणाली अनुसार प्रतिस्पर्धामा एशियाली ३२ राष्ट्रको सहभागी रहेको थियो।
नेपालका २०५३ रेटेड सिलवाल २२औँ वरीयता लिदै सहभागी भएका थिए। सिलवालले उत्कृष्ट प्रदर्शन गर्दै ६.५ अंक जोडेर चौथो स्थान कब्जा गरे। उनले २३४५ रेटिङ औसतको खेल प्रदर्शन गरि ब्यक्तिगत १३६.८ रेटिङ थप गरेका छन् ।
प्रतिस्पर्धामा सिलवालले चीनका चेन सिन्सुओ, भियतनामका एफएम डाङ आन मिन्ह, काजाखस्तानका एफएम बोलात इनायत, भियतनामका आईएम बान्ह जिया हुई तथा हङकङका सीएम काओ जामिसन एड्रिचलाई पराजित गरे।
उनले भियतनामका आईएम फाम त्रान जिया फुकसँग बराबरी खेले भने अन्तिम चरणमा भियतनामकै एफएम डुओङ भु आनसँग पराजित भएका थिए। अन्तिम खेल जित्न सके संवरण पदक जित्ने सम्भावना बलियो रहेको थियो।
अन्तम खेलमा सिलवाललाई हराएर भियतनामका एफएम डुओङ भु आनले ७.५ अंकका साथ उपाधि जिते। फिलिपिन्सका आईएम आर्का क्रिस्टियन जियान कार्लो ७ अंकसहित दोस्रो तथा भारतका एफएम माधवेन्द्र प्रताप शर्मा पनि ७ अंकसहित टाइब्रेकका आधारमा तेस्रो भए।
हारका बाबजुद सिएम पुरुषोत्तम ६.५ अंक टाइब्रेकका आधारमा चौथो स्थान प्राप्त गरे । उनी सँगै अन्य चार जनाले समान अंक जोड्दै सातौं स्थानमा रहे।
एशियाका उत्कृष्ट युवा खेलाडी माझ नेपालको प्रतिस्पर्धात्मक क्षमता प्रमाणित गर्दै सिलवालले भविष्यमा अझ उच्च सफलता हासिल गर्न सक्ने संकेत दिइरहेको प्रवक्ता राजु ताम्राकारले बताए ।











प्रतिक्रिया