त्रिशूली किनारबाट बालुवा मजदुर लखेटिए, साबेल–थुन्से नियन्त्रणमा

0
Shares

धादिङ ।

त्रिशूली नदीकिनारकाे बालुवा झिकेर जिविका चलाउदै आएका धादिङको गजुरी गाउँपालिका–६ जरेखेतका मजदुरकाे साबेल र थुन्चे खाेसेर मजदुर लखेटिएका छन् ।

४०/४२ जना मजदुरले नदी किनारमा थुप्रिएकाे वालुवा वर्षालागेपछि झिकेर जिविका चलाउदै आएकामा बुधबार एकाएक इलाका प्रहरी कार्यालय गजुरीकाे टाेलीले मजदुर लखेटेकाे हाे ।

उजुरी परेपछि इलाका प्रहरी कार्यालय गजुरीले नदी किनारमा काम गरिरहेका मजदुरलाई हटाउँदै उनीहरूले प्रयोग गर्दै आएका थुन्से, साबेल तथा बालुवा निकाल्न प्रयोग हुने फलामका डिब्बासहितका सामग्री नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यनलय गजुरीका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताउनुभयाे ।

स्थानीयका अनुसार नदीजन्य पदार्थ उत्खननमा मेसिन प्रयोग गर्न नपाइने व्यवस्था छ । तर मानिसले परम्परागत रूपमा थुन्से र साबेलको प्रयोग गरी बालुवा निकाल्न पाइने व्यवस्था लामो समयदेखि चल्दै आएको छ। यही कामबाट दर्जनौँ परिवारले दैनिक गुजारा चलाउँदै आएका थिए।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले उजुरी परेपछि प्रहरी परिचालन गरिएको र मजदुरका सामग्री नियन्त्रणमा लिइएको पुष्टि गर्नुभयो। उहाँका अनुसार करिब ८–१० सेट सामग्री बरामद गरिएको र बरामदी मुचुल्का नगरि राखिएकाे बताउनुभयाे ।

प्रहरीले बरामद गरिएका सामग्रीबारे मुचुल्का वा अन्य लिखित कागजातसमेत उपलब्ध नगराएको मजदुरहरूको गुनासो छ। कारबाहीको स्पष्ट कानुनी आधारसमेत आफूहरूलाई जानकारी नगराइएको उनीहरूको भनाइ छ।

घटनापछि स्थानीयले प्रहरीको कदमप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार रातको समयमा मेसिन प्रयोग गरेर हुने अवैध उत्खनन प्रभावकारी रूपमा नियन्त्रण हुन नसकेको अवस्थामा दैनिक श्रम गरेर परिवार पाल्ने मजदुरमाथि मात्र कडाइ गरिएको छ।

सिद्धलेक गाउँपालिका–७ का पूर्व वडाध्यक्ष लक्ष्मण खतिवडाले नदीले प्राकृतिक रूपमा थुपारेको बालुवा थुन्सेमा बोकेर बिक्री गर्दा न भू–क्षय हुने, न सडकमा असर पुग्ने भन्दै गरिब मजदुरको सामान जफत गर्नुको औचित्यमाथि प्रश्न उठाउनुभयो।

यता, वर्षायामका कारण त्रिशूली नदीमा पानीको बहाव बढेकाले सम्भावित दुर्घटना रोक्न सुरक्षाका दृष्टिले यस्तो कदम चालिएको हुन सक्ने अनुमान गरिएको भए पनि जिल्ला प्रशासन कार्यालय धादिङले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन।