सौराहामा हात्तीलाई वनभोज, संरक्षणसँगै सहअस्तित्वको सन्देश

0
Shares

चितवन।

चितवनको पर्यटकीय नगरी सौराहामा १५औँ विश्व हात्ती दिवसको अवसरमा हात्तीलाई वनभोज गराइएको छ । हात्ती संरक्षण, उचित व्यवस्थापन तथा मानव–हात्ती सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले बुधबार विशेष कार्यक्रम आयोजना गरी हात्तीलाई वनभोज गराइएको हो ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजित कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका गरी करिब ५६ वटा हात्ती सहभागी भएका थिए । बाघमारा, चित्रसेन, जनकौली र कुमरोज मध्यवर्ती सामुदायिक वनको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा हात्तीलाई लामबद्ध गराएर विभिन्न प्रकारका फलफूल तथा तरकारी खुवाइएको थियो ।

हात्तीका लागि उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन फ्रुट, स्याउ, केरा, भुईँकटहर, फर्सीलगायतका फलफूल तथा तरकारीको व्यवस्था गरिएको थियो । वनभोजमा सहभागी हात्तीलाई एकै स्थानमा लामबद्ध गरी आहार खुवाइँदा कार्यक्रम हेर्न स्थानीय तथा पर्यटकको समेत भीड लागेको थियो ।

सौराहाको पर्यटन विकासको इतिहास हात्ती सफारीसँग प्रत्यक्ष रूपमा जोडिएको छ । हात्ती सफारीले चितवनको पर्यटन प्रवद्र्धन र विस्तारमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । निकुञ्जको वन क्षेत्रमा हात्ती सफारीमार्फत पर्यटकलाई वन्यजन्तु तथा जैविक विविधताको अवलोकन गराउने गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत हाल ५८ वटा हात्ती रहेका छन् । तीमध्ये ४५ वटा हात्ती सौराहा क्षेत्रमा रहेको तथ्यांक छ । नेपालभर सरकारी तथा निजी क्षेत्रका गरी करिब १८५ वटा हात्ती रहेको बताइएको छ ।

हात्ती पर्यटनको प्रमुख आकर्षणका रूपमा मात्रै नभई वन तथा वन्यजन्तु संरक्षण, गस्ती, विपद् व्यवस्थापन तथा वन्यजन्तुको चोरी–तस्करी नियन्त्रणमा समेत उपयोग हुँदै आएका छन् । विशेषगरी निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा गस्ती र संरक्षणका काममा हात्तीको प्रयोग महत्वपूर्ण मानिन्छ ।

तर निजी हात्तीका लागि चितवन राष्ट्रिय निकुञ्जबाट घाँस तथा आहार उपलब्ध गराउन नपाउने अवस्थाका कारण हात्तीको आहार व्यवस्थापनमा समस्या भइरहेको व्यवसायीहरूले बताएका छन् । निजी हात्तीको संरक्षण र व्यवस्थापनका लागि राज्यले आवश्यक सहजीकरण गर्नुपर्ने उनीहरूको माग छ ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले निजी हात्तीलाई समेत निकुञ्ज क्षेत्रबाट घाँस उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । हात्ती पर्यटनसँगै संरक्षणमा समेत योगदान पुर्‍याइरहेकाले निजी क्षेत्रका हात्तीको व्यवस्थापनमा राज्यले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले उमेर पुगेका तथा काम गर्न नसक्ने हात्तीको दीर्घकालीन व्यवस्थापनका लागि ‘एलिफेन्ट सेन्चुरी’ निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । हात्तीको किनबेच तथा ओसारपसारमा सरकारले प्रतिबन्ध लगाएपछि बूढा तथा काम गर्न नसक्ने हात्तीको व्यवस्थापन व्यवसायीका लागि थप चुनौती बनेको उहाँले बताउनुभयो ।

“काम गर्न नसक्ने र उमेर पुगेका हात्तीको व्यवस्थापन अहिले चुनौतीपूर्ण बनेको छ,” खतिवडाले भन्नुभयो, “त्यसका लागि सरकारले आवश्यक स्थान उपलब्ध गराएर एलिफेन्ट सेन्चुरी निर्माण गर्नुपर्छ ।”

हात्तीको संरक्षणलाई पर्यटनसँग मात्रै जोडेर हेर्न नहुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा हात्तीको महत्वपूर्ण भूमिका रहेकाले हात्तीबिनाको संरक्षण व्यवस्थापन कल्पना गर्न नसकिने उहाँको भनाइ थियो ।

उहाँका अनुसार अहिलेको मुख्य चुनौती हात्तीको संख्या बढाउनु मात्रै नभई उपलब्ध बासस्थानको क्षमताअनुसार दीगो व्यवस्थापन गर्नु हो । मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्व कायम गर्नु संरक्षणको महत्वपूर्ण पक्ष भएको उहाँले बताउनुभयो ।

हात्ती दिवसका अवसरमा आयोजित वनभोजले हात्तीको संरक्षण, व्यवस्थापन तथा पर्यटनमा यसको योगदानबारे सकारात्मक सन्देश प्रवाह गरेको आयोजकहरूको भनाइ छ । हात्तीको उचित व्यवस्थापन र संरक्षणसँगै मानव–हात्ती सहअस्तित्व कायम गर्न राज्य, व्यवसायी, संरक्षणकर्मी र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो ।