आफ्नो गाडीमा नक्कली पार्ट्स त प्रयोग गरिरहनुभएको छैन? यसरी चिनौं सक्कली टाटा जेन्युइन पार्ट्स


काठमाडौं ।

नेपालमा अवैध रूपमा आयात गरिएका टाटा गाडीका नक्कली पार्टपुर्जा तथा लुब्रिकेन्ट्सको बिक्री–वितरण बढ्दै गएको भन्दै सवारीसाधनको सुरक्षाप्रति चिन्ता व्यक्त गरिएको छ। कमजोर तथा नक्कली पार्ट्सको प्रयोगले सवारीसाधनको कार्यक्षमता घटाउनुका साथै मर्मत खर्चसमेत बढाउने जोखिम रहेको बताइएको छ।

नक्कली पार्ट्स तथा गुणस्तरहीन लुब्रिकेन्ट्स प्रयोग गर्दा इन्जिन, ब्रेक र क्लच प्रणालीमा गम्भीर असर पर्न सक्ने बताइएको छ। त्यस्ता सामग्रीका कारण सवारी गुड्दागुड्दै बिग्रिने, इन्जिन सिज हुने तथा अचानक प्राविधिक समस्या उत्पन्न भई दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने जनाइएको छ।

यस्तो अवैध कारोबारलाई निरुत्साहित गर्दै टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रा. लि. ले आफ्ना ग्राहकलाई टाटा जेन्युइन पार्ट्स तथा आधिकारिक लुब्रिकेन्ट्स मात्र प्रयोग गर्न आग्रह गरेको छ।

सिप्रदीका अनुसार सक्कली र नक्कली पार्ट्स छुट्याउन प्याकेटमा उल्लेख गरिएको कन्ट्री कोड, क्यूआर कोड तथा आधिकारिक विवरण जाँच गर्नुपर्छ। नेपालमा आयात भएका पार्ट्सको बक्समा आधिकारिक वितरक सिप्रदी अटो पार्ट्सको विवरण उल्लेख गरिएको हुन्छ। त्यस्तै, प्याकेटमा रहेको टाटा होलोग्राम तथा लोगो र क्यूआर कोड स्क्यान गरी पार्ट्सको सक्कलता पुष्टि गर्न सकिने जनाइएको छ।

सक्कली टाटा जेन्युइन पार्ट्समा टाटा मोटर्स कम्पनीसम्बन्धी आवश्यक विवरणसमेत उल्लेख गरिएको हुन्छ। त्यसैले पार्ट्स खरिद गर्दा लेबलमा रहेको कन्ट्री कोड, क्यूआर कोड, होलोग्राम र सिप्रदीको आधिकारिक विवरण अनिवार्य रूपमा जाँच गर्न सवारीधनी, यातायात व्यवसायी तथा चालकहरूलाई आग्रह गरिएको छ।

सिप्रदीले पार्ट्स आफ्नो आधिकारिक बिक्री सञ्जालबाट मात्र खरिद गर्न समेत अनुरोध गरेको छ। कम्पनीका अनुसार गुणस्तरीय र सक्कली पार्ट्स प्रयोग गर्दा इन्जिन, ब्रेक, क्लचलगायत महत्वपूर्ण प्रणालीको दीर्घकालीन स्थायित्व कायम रहन्छ।

सक्कली पार्ट्सको प्रयोगले सवारीको कार्यक्षमता सुधार गर्नुका साथै पटक–पटक मर्मत गर्नुपर्ने समस्या घटाउने, सवारीको आयु लम्ब्याउने र सञ्चालन खर्च नियन्त्रणमा सहयोग गर्ने कम्पनीको दाबी छ। यसले व्यवसायको नाफामा समेत सकारात्मक प्रभाव पार्ने सिप्रदीको भनाइ छ।