विश्वकपमा विज्ञापन र ब्रान्डिङबाट करोडौं कमाउने सेलिब्रेटीहरू


लन्डन, (एजेन्सी)

मैदानमा फुटबलको महाकुम्भ अर्थात् विश्वकप चल्दै गर्दा सबैको मुख्य चासो ट्रफीमा भए पनि मैदानबाहिर हुने विज्ञापन र ब्रान्डिङको प्रतिस्पर्धा पनि कम रोचक हुँदैन । हालै सम्पन्न विश्वकपमा स्पेनले उपाधि जितेर आर्थिक रूपमा ठूलो धनराशि हात पार्दा विश्व चर्चित सेलिब्रेटीहरूले भने मैदानबाहिरबाट मनग्गे आम्दानी गर्न सफल भएका छन् । बेलायती पत्रिका ‘द सन’ को रिपोर्टअनुसार पूर्व फुटबल स्टार डेभिड बेकह्यामदेखि पप गायिका शाकिरा र किम कार्दशियनसम्मले यो विश्वकपबाट करोडौं डलर आर्जन गरेका छन् ।

जसमा ५१ वर्षीय पूर्व बेलायती कप्तान डेभिड बेकह्याम बैंक अफ अमेरिका, लेज क्रिस्प्स, म्याकडोनाल्ड्स र एडिडासजस्ता ठूला ब्रान्डको प्रचार गरेर करिब १९ मिलियन पाउन्ड (करिब ३ अर्ब ३० करोड नेपाली रुपियाँ) भन्दा बढी कमाउँदै यसका ‘रियल विनर’ बनेका छन् । उता, विश्वकपको पर्याय बनेकी पप गायिका शाकिराले यस प्रतियोगिताका विभिन्न कार्यक्रममा उपस्थिति जनाएर र समापन समारोहमा बर्न बोयसँगको प्रस्तुति दिएर १५ मिलियन पाउन्ड (करिब २ अर्ब ६० करोड रुपियाँ) कमाएको अनुमान गरिएको छ भने गायक जस्टिन बिबरले १२ मिलियन पाउन्ड (करिब २ अर्ब ७ करोड रुपियाँ) आर्जन गरेका छन् ।

त्यस्तै, फेसन आइकन किम कार्दशियनले महँगा विज्ञापन स्लटहरूबाट ८ मिलियन पाउन्ड (करिब १ अर्ब ३८ करोड रुपियाँ) र के–पप ब्यान्ड ‘ब्ल्याकपिंक’ की सदस्य लिसाले फ्यानहरूलाई फुटबलसँग जोड्दै ठूला ब्रान्डहरूसँग सहकार्य गरेर ९ मिलियन पाउन्ड (करिब १ अर्ब ५६ करोड रुपियाँ) कमाउन सफल भएका छन् । ब्रान्ड विज्ञ निक एडका अनुसार विश्वकप विज्ञापनको विश्वकै सबैभन्दा ठूलो मञ्च भएकाले र अर्बौं दर्शकले एकैपटक हेर्नेहुँदा ब्रान्डहरूले सेलिब्रेटीलाई करोडौं तिर्न हिच्किचाउँदैनन्, किनकि एउटा विश्वकपको विज्ञापनमा देखिनु हलिउडको ब्लकबस्टर फिल्ममा काम गर्नुभन्दा बढी फलदायी हुन्छ र यसले फुटबलको क्रेज मनोरञ्जन क्षेत्रका हस्तीहरूका लागि पनि पैसा छाप्ने मेसिनजस्तै बनेको पुष्टि गर्छ ।