बडी बिल्डिङमा सफल बनेका आकाश


काठमाडौं।

लगातार मिहिनेत गरेमा सफलता कतै जाँदैन भन्ने कुरा खेलाडी आकाश श्रेष्ठले सावित गरेका छन् । करातेमा सफलता प्राप्त गरेर आकाशले शारीरिक सुगठन (बडी बिल्डिङ) मा करिअर बनाउनतिर लागे । उनले एक सफल बडी बिल्डर हुन दिनरात मिहिनेत गरे । यसको लागि जिम गए, आफ्नो शरीरको बनोट बडी बिल्डिङमा चाहिनेअनुसार बनाए । उनको यो अथक मिहिनेतले रंग पनि लायो र अहिले उनी नेपालका एक सफल बडी बिल्डरका रूपमा परिचित भएका छन् ।
आकाशले हालै प्राप्त गरेको सफलतापछि त उनको करिअर नामअनुसार नै आकाशमा पुगेको छ । उनले हालै भुटानको राजधानी थिम्पुमा आयोजित १६ औं दक्षिण एसियाली बडीबिल्डिङ तथा फिजिक स्पोटर््स च्याम्पियनसिपमा ऐतिहासिक सफलता हासिल गरेका हुन् । काठमाडौंको झोछेँमा जन्मेका आकाशले पुरुष स्पोट्र्स फिजिक १७० सेन्टिमिटरसम्म विधामा स्वर्ण पदक प्राप्त गरेका हुन् । उनले यस अन्तर्राष्ट्रिय उपाधि जितेर बडी बिल्डिङ करिअरमा अझ सफलता प्राप्त गर्न प्रोत्साहित भएको पनि बताए ।

पहिलो सहभागितामै अन्तर्राष्ट्रिय उपाधि पाएपछि आकाशले असीम खुशी भएको बताए । उनले भने– यो सफलताले मलाई निकै खुशी तुल्यायो । पहिलो सहभागितामै स्वर्ण पदक जितेँ । आफ्नो देशको झण्डा विदेशमा फर्फराउन पाएँ । आफ्नो देशको राष्ट्रिय गीत विदेशमा सुन्न पाएँ । यो मेरो लागि निकै भावुक र गर्वित क्षण बनेको थियो । शायद यो क्षण मैले कहिल्यै बिर्सन सक्दिन होला ।

उनले थपे – ‘मलाई यो उपाधिले यसैमा अझ थप उपलब्धि हासिल गर्न उत्साहित गरेको छ । तर, यो मेरो एकल प्रयासले सम्भव छैन । यो सफलतामा मेरा कोच, परिवार र साथी भाइ इष्ट मित्रलाई पनि श्रेय जान्छ । मलाई प्रतिस्पर्धामा भाग लिन प्रोत्साहन गर्नु भएका उहाँहरूको प्रेरणाले नै मलाई सफल बनाएको हो । यसका लागि उहाँलाई धन्यवाद पनि छ ।’

आकाशको अबको लक्ष्य भनेको मिस्टर वल्र्ड बन्नु रहेको छ । उनले बताए–‘मैले अझ ठूलो सपना बुन्न थालेको छु । आगामी वर्ष २०२७ मा भुटानमै हुने मिस्टर वल्र्ड प्रतियोगितामा भाग लिने मेरो योजना रहेको छ । यसका लागि मैले अहिलेदेखि नै तयारी गरिरहेको छु । चानचुने प्रशिक्षणले त सकिँदैन । समय बाँकी छ हेरौं के हुन्छ ?’

आकाशले राष्ट्रिय प्रतियोगितामा सफल भएपछि मात्रै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन जमर्को गरेको पनि बताए । उनले १७औँ धर्मश्री शारीरिक सुंगठन प्रतियोगिताअन्तर्गत पुरुष स्पोट्र्स फिजिक १७० सेन्टिमिटरसम्म विधामा उपाधि जितेका हुन् । यसअघि पनि उनी दोस्रो मिस्टर महानगर प्रतियोगितामा पहिलो स्थानमा रहे ।

करातेबाट बडी बिल्डिङ

आकाशले सुरुआतमा नेपालमा सफल मार्सल आर्टस् खेल करातेलाई रोजेका थिए । झण्डै ८–९ वर्ष बिताएका थिए । कराते नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा बढी पदक दिनेमध्ये एक खेल पनि हो । करातेमा उनले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा गरी २८ वटा स्वर्ण र ४ वटा रजत पदक जितेका छन् । यो पदकले नै प्रमाणित गर्छ कि उनी नेपालका एक सफल खेलाडी हुन् । तर, उनले यसपछि भने यो सफल करिअरलाई छाडेर शारीरिक सुंगठनतिर आफ्नो करिअर डो¥याए । आफ्नै मनले नै यो करिअरमा लागेको उनको भनाइ रहेको छ ।