‘थ्री इडियट्स’ का फुनसुख वाङ्दुको वास्तविक जीवन कहानी: हिउँको स्तूपदेखि विद्रोहको आँधीसम्म

0
Shares

काठमाडौं।
बलिउडको सदाबहार चलचित्र ‘थ्री इडियट्स’ हेरेका जो कोहीले पनि अभिनेता आमिर खानले निभाएको काल्पनिक भूमिका ‘फुनसुख वाङ्दु’ को प्रष्ट, सिर्जनशील र विलक्षण पात्रलाई नचिन्ने सायदै कोही होलान् । त्यो पर्दाको पात्र जसले संसारभरिका लाखौँ युवाहरूलाई आफ्नो रुचि र क्षमता अनुसारको नवीन मार्ग रोज्न प्रेरित ग¥यो, वास्तवमा उनलाई काल्पनिक पात्र भनेर आमिर खानले केही समयअघि सार्वजनिक रूपमा प्रष्ट पारे पनि भारतको दुर्गम हिमाली क्षेत्र लद्दाखका एक प्रख्यात इन्जिनियर, शिक्षा सुधारक र पर्यावरणविद् सोनाम वाङ्चुकको वास्तविक जीवनबाट प्रभावित भएर बुनिएका जीवन्त स्वरूप थिए ।

पर्दामा केवल हाँसो र प्राविधिक चमत्कार देखाएर सकारात्मक सन्देशमा टुंगिएको त्यो कथा वास्तविक जीवनमा भने अहिले एउटा सर्वथा फरक र संवेदनशील मोडमा आइपुगेको छ । हिजोसम्म अनौठा र पर्यावरणमैत्री आविष्कार गरेर विश्वकै मन जित्ने ५९ वर्षीय तिनै शान्त नायक सोनम वाङ्चुक आज भारतको राष्ट्रिय सुरक्षा ऐन (एनएसए) कारण कहिले धर्नामा त कहिले जेलको पर्दै आएका छन् । उनलाई दशकौँपछिकै सबैभन्दा ठूलो जनविद्रोह भड्काएको गम्भीर आरोप लगाइएको छ ।

यो रूपान्तरण केवल एउटा व्यक्तिको कथामात्र होइन, एउटा सिंगो पर्यावरण र राजनीतिक अधिकारका लागि लद्दाखको चिसो मरुभूमिबाट सल्किएको संघर्षपूर्ण अभियान पनि हो । सोनाम वाङ्चुकको जन्म सन् १९६६ मा लद्दाखको उलेतोक्पो गाउँमा भएको थियो । गाउँमा विद्यालय नभएका कारण उनले ९ वर्षको उमेरसम्म औपचारिक शिक्षा पाएनन् । पछि श्रीनगर र दिल्लीमा पढ्दै गर्दा उनको फरक शारीरिक रूप र रैथाने लवजका कारण समाजले उनलाई ‘मन्दबुद्धि’ को दर्जासमेत दियो । तर, हेपाइको त्यो कालखण्ड नै उनको जीवनको सबैभन्दा ठूलो ऊर्जा बन्यो ।

बुबासँगको मतभेदका बाबजुद आफ्नै पौरखमा एनआईटी श्रीनगरबाट मेकानिकल इन्जिनियरिङ पूरा गरेर उनले फ्रान्सबाट माटोको वास्तुकलाको उच्च शिक्षा हासिल गरे । सन् १९८८ मा उनले (एसईसीएमओएल) संस्था स्थापना गरे, जसको उद्देश्य परम्परागत शिक्षा पद्धतिमा अटाउन नसकेका विद्यार्थीहरूलाई व्यावहारिक र जीवनोपयोगी शिक्षा दिनु थियो । यो आन्दोलनले लद्दाखको शिक्षा क्षेत्रमा आमूल क्रान्ति ल्यायो ।

उनको सिर्जनशीलता शिक्षामा मात्र सीमित रहेन । लद्दाखका किसानहरूको पानी संकट समाधान गर्न उनले ‘आइस स्तूप’ (कृत्रिम हिमनदी) को आविष्कार गरे । जाडोमा खेर जाने पानीलाई टावरको रूपमा जमाएर बनाइने यो हिउँको स्तूप वसन्त ऋतुमा बिस्तारै पग्लिएर तिर्खाएको जमिन सिञ्चित गर्दथ्यो । यसैका लागि उनलाई सन् २०१८ मा एसियाकै प्रतिष्ठित ‘रमन म्यागसेसे पुरस्कार’ प्रदान गरियो ।

साथै, माइनस डिग्रीको जाडोमा सीमामा खटिने सैनिकहरूका लागि उनले प्रदूषणरहित ‘मोबाइल सोलार–पावर्ड टेन्ट’ बनाए, जसले उनलाई राष्ट्रकै अमूल्य सम्पत्तिका रूपमा स्थापित ग¥यो । तर, सन् २०१९ को अगस्टमा भारतीय सरकारले जम्मु–काश्मीरको विशेष स्वायत्तता खारेज गर्दै लद्दाखलाई संसद् नभएको केन्द्र शासित प्रदेश बनाएपछि वाङ्चुकको जीवन फेरि मोडियो । संसद् र आफ्नै नेतृत्व नहुँदा लद्दाखको भूमि, आदिवासी पहिचान र संवेदनशील पर्यावरणमाथि बाह्य औद्योगिक हस्तक्षेपको खतरा बढेको भन्दै वाङ्चुकले लद्दाखलाई संविधानको छैटौँ अनुसूचीमा समावेश गर्न शान्तिपूर्ण आन्दोलनको बिगुल फुके ।

सन् २०२३ र २०२४ मा उनले कठोर जाडोमा आमरण अनसन र सयौँ किलोमिटरको ‘पश्मिना मार्च’ को नेतृत्व गरे । यही क्रममा गत सेप्टेम्बर २४ मा लेह बजारमा प्रहरी र प्रदर्शनकारीबीच भएको हिंस्रक झडपमा चार जनाको ज्यान गयो । यसपछि सरकारले वाङ्चुकको भाषणले हिंसा फैलाएको आरोप लगाउँदै गत सेप्टेम्बर २६ मा उनलाई राष्ट्रिय सुरक्षा ऐन (एनएसए) अन्तर्गत पक्राउ ग¥यो । प्रशासनले उनलाई नेपालको ‘जेन–जी’ आन्दोलन र ‘अरब स्प्रिङ’ जस्ता जनविद्रोहको उदाहरण दिएर अस्थिरता फैलाउन खोजेको गम्भीर आरोप लगाएको छ भने उनको संस्थाको विदेशी आर्थिक सहायता इजाजतपत्र (एफसीआरए) समेत खारेज गरिएको छ ।

आज वाङ्चुक विरोधमा र सिंगो लद्दाख भारी सुरक्षा घेरामा छ । चलचित्रको पर्दामा नयाँ सोच सिकाउने ‘फुनसुख वाङ्दु’ को वास्तविक रूप आज आफ्नो माटोका लागि राज्यसत्तासँग लडिरहेको छ । वाङ्चुकको यो असाधारण यात्राले साँचो नायक त्यो होइन जो केवल प्रयोगशालामा सुरक्षित रहन्छ, साँचो नायक त त्यो हो जो आफ्नो माटो र जनताको अस्तित्व संकटमा पर्दा सम्पूर्ण मान–प्रतिष्ठा त्यागेर आन्दोलनको अग्रपङ्क्तिमा उभिन सक्छ भनेर प्रमाणित गरेको छ ।