काठमाडौं .
नेपालले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) नीति लागू गरी राष्ट्रिय एआई केन्द्र स्थापना गरेसँगै डिजिटल रूपान्तरणलाई तीव्रता दिइरहेका बेला काठमाडौंमा ‘एआई फर ह्युम्यानिटीः नेभिगेटिङ द ग्रेट सोसाइटल च्यालेन्जेस अफ द एआई एज’ विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ।

वर्ल्ड फोरम फर एथिक्स इन बिजनेस (WFEB) ले द सोल्टी होटलमा आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष तथा विश्वस्तरीय एआई नैतिकता विशेषज्ञ डा. सञ्जय प्रधानले कृत्रिम बुद्धिमत्ताले नेपालका लागि सिर्जना गर्ने अवसर र चुनौतीबारे धारणा राख्दै मानव मर्यादा, लोकतान्त्रिक मूल्य र मानवीय स्वायत्तताको संरक्षण गर्ने जिम्मेवार तथा नैतिक एआईको विकास र प्रयोगमा जोड दिनुभयो।

उहाँले एआईले राष्ट्रिय विकास, सुशासन र युवाको सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने उल्लेख गर्दै प्रविधिगत उत्कृष्टतासँगै नैतिक नेतृत्वलाई आत्मसात् गर्ने राष्ट्रहरू नै एआई युगमा दीर्घकालीन रूपमा सफल हुने बताउनुभयो।

डा. प्रधानले आगामी नोभेम्बर २०२६ मा हुने WFEB ग्लोबल समिटपछि नेपाललाई ‘नेशनल एआई फर ह्युम्यानिटी फोरम’ आयोजना गर्ने प्रारम्भिक राष्ट्रमध्ये एक बनाउन प्रस्ताव गर्नुभएको छ। उहाँका अनुसार सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, नागरिक समाज र युवालाई एउटै मञ्चमा ल्याएर समावेशी, उत्तरदायी र नैतिक एआईको भविष्य निर्माण गर्न यस्तो फोरम उपयोगी हुनेछ।

कार्यक्रममा ‘एआई फर ह्युम्यानिटी’ की संयोजक तथा आर्ट अफ लिभिङ नेपालकी कर्पोरेट प्रोग्राम्स निर्देशक नीभा माथेमा प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वर के. सिंहले डा. प्रधानलाई मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो। कार्यक्रमको सञ्चालन टिम भेन्चर्सका प्रमुख कार्यकारी अधिकृत तेन्जिङ सोनाम गोन्सारले गर्नुभएको थियो।

बेल्जियमको ब्रसेल्समा मुख्यालय रहेको वर्ल्ड फोरम फर एथिक्स इन बिजनेस (WFEB) ले विगत दुई दशकदेखि विश्वभर व्यवसाय, सरकार, शैक्षिक क्षेत्र र नागरिक समाजका नेतृत्वकर्ताबीच नैतिक नेतृत्व तथा उत्तरदायी व्यवसाय प्रवर्द्धनका लागि सहकार्य गर्दै आएको छ। संस्थाको ‘एआई फर ह्युम्यानिटी’ पहलले मानव मर्यादा र मानवीय स्वायत्तताको संरक्षण गर्दै जिम्मेवार एआईको विकास, प्रयोग र सुशासनमार्फत मानव कल्याण प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।












प्रतिक्रिया