कमिला खाएपछि मातेर सडकमै लड्खडाउँदै हिँड्न थाले समुद्री चरा


बेलायतका समुद्री तटीय क्षेत्रमा समुद्री चरा (सिगल) हरूको अनौठो व्यवहारले धेरैलाई अचम्ममा पारेको छ। सडकमा लड्खडाउँदै हिँड्ने, उड्न संघर्ष गर्ने र सवारीसाधनको बीचमा पुग्ने यस्ता चराको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

भाइसका अनुसार सफोक काउन्टीका लोवेस्टोफ्ट र एल्डबर्गसहितका तटीय क्षेत्रमा यस्तो दृश्य देखिएको हो। लगातारको गर्मीका कारण यस वर्ष उड्ने कमिला सामान्यभन्दा चाँडै ठूलो संख्यामा निस्किएपछि सिगलहरूले ती कमिला अत्यधिक मात्रामा खाएका थिए।

वन्यजन्तु उद्धार संस्था सोम्प्टिङ वाइल्डलाइफ रेस्क्युका अनुसार उड्ने कमिलाले आफ्नो सुरक्षाका लागि ‘फर्मिक एसिड’ नामक रसायन निकाल्छन्। सामान्य मात्रामा यो हानिकारक नहुने भए पनि सिगलहरूले एकैपटक सयौँ कमिला खाँदा उनीहरू केही समयका लागि ‘मातेजस्तै’ देखिन सक्ने, लड्खडाउन सक्ने र राम्रोसँग उड्न नसक्ने अवस्था देखिने बताइएको छ।

संस्थाले यस्तो अवस्थामा रहेका चराहरू व्यस्त सडकमा झन् बढी जोखिममा पर्ने भएकाले उनीहरू देखिएमा सवारीको गति घटाउन र चरालाई केही समय आराम गर्ने ठाउँ दिन आग्रह गरेको छ।

यद्यपि वैज्ञानिकहरूले फर्मिक एसिड नै यसको मुख्य कारण हो भन्ने कुरा अझै पुष्टि नभएको बताएका छन्। ब्रिटिस ट्रस्ट फर अर्निथोलोजीकी डा. भायोला रस–स्मिथका अनुसार फर्मिक एसिडले चरामा मदिराले मानिसमा गर्ने जस्तै प्रभाव पार्न सक्छ भन्ने अनुमान गरिएको छ, तर अर्को सम्भावना भनेको चराहरू धेरै खाना पाउनमा यति व्यस्त हुने भएकाले वरपरको वातावरण र सवारीसाधनप्रति ध्यान नदिएको पनि हुन सक्छ।

बीबीसी साइन्स फोकसका अनुसार बेलायतमा उड्ने कालो बगैँचा कमिलाले उत्पादन गर्ने फर्मिक एसिडको मात्रा धेरै कम हुन्छ। त्यसैले धेरै विज्ञहरू चराहरू वास्तवमै ‘मातेका’ भन्दा पनि धेरै खाना खानमा व्यस्त भएकाले असामान्य व्यवहार देखिएको हुन सक्ने विश्वास गर्छन्।

उड्ने कमिलाको मौसम प्रायः जुलाईको मध्यतिर चरम अवस्थामा पुग्छ। यस अवधिमा नयाँ बासस्थान बनाउन र प्रजननका लागि पखेटा भएका भाले र रानी कमिला एकैपटक बाहिर निस्कने गर्छन्। वन्यजन्तु संरक्षण संस्थाहरूका अनुसार अधिकांश सिगल केही समयपछि आफैं सामान्य अवस्थामा फर्किने भएकाले अनावश्यक रूपमा समात्ने वा दुःख दिनेभन्दा सुरक्षित दूरी कायम राख्नु नै उपयुक्त हुन्छ।