काठमाडौं।
एन आई सी एशिया बैंक लिमिटेड २९औं वर्षमा प्रवेश गरेको छ। बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइरहेको जनाएको छ।
झन्डै तीन दशकको यात्रामा बैंकप्रति निरन्तर विश्वास र साथ दिने ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी, व्यवसायिक साझेदार तथा सम्पूर्ण सरोकारवालाप्रति बैंकले आभार व्यक्त गरेको छ।
बैंकले मुलुकको आर्थिक विकास र सामाजिक क्षेत्रमा वित्तीय सेवा प्रदान गर्दै योगदान पुर्याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा थप प्रविधिमैत्री, ग्राहकमैत्री र विश्वसनीय बैंकिङ सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिरहेको छ। श्रावण महिनाको पहिलो सोमबारको अवसर पारेर पशुपति मन्दिर दर्शन गर्न आएका भक्तजनलाई खानेपानी वितरण गरिएको बैंकले जनाएको छ।
त्यस्तै, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय कमलादीमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहक गरी १०१ जनाले रक्तदान गरेका थिए।
वार्षिकोत्सवकै अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका विभिन्न स्थानमा १३ वटा विद्यालय र एक आश्रमलाई सहयोग उपलब्ध गराएको छ। सहयोगअन्तर्गत कम्प्युटर, फर्निचर, स्मार्ट बोर्ड, प्रोजेक्टर, वाटर प्युरिफायर, प्रिन्टर, शैक्षिक सामग्री, झोला तथा विद्यालय भवनको छाना ट्रस निर्माणलगायत सामग्री प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकले सातै प्रदेशका सांस्कृतिक सम्पदा, मन्दिर, विद्यालय तथा सार्वजनिक स्थलको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सरसफाइ अभियानसमेत सञ्चालन गरिरहेको जनाएको छ।
एन आई सी एशिया बैंकले २९औं वार्षिकोत्सवलाई सामाजिक सेवा र समुदायसँगको सहकार्यका माध्यमबाट थप अर्थपूर्ण बनाउने उद्देश्य राखेको जनाएको छ।











प्रतिक्रिया