हेली उद्धार गरिएकी सुत्केरीको मृत्यु

काठमाडौं रिफर गरियो, जटिल भएपछि पोखरा ल्याइएको थियो 


पोखरा। 

 हेलिकप्टर उद्धार गरी पोखरा ल्याइएकी एक सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य अवस्था जटिल बनेपछि हवाई उद्धार गरी पोखरा ल्याइएकी निसीखोलाकी मिना सुनारको मृत्यु भएको हो ।

मंगलबार बिहान छोरीलाई जन्मदिएकी निसिखोला गाउँपालिका वडा नं. ३ ढाडखर्ककी ३९ वर्षिया मिनालाई मणिपाल शिक्षण अस्पताल ल्याइएको थियो । उपचारका लागि पोखरा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको बोहरागाउँ स्वास्थ्य चौंकीका जनस्वास्थ अधिकृत टोपबहादुर चन्दले जनाकारी दिए । 
बोहोरागाउँ स्वास्थ्य चौकीमा छोरीलाई जन्मदिएकी सुनारको राती करिब १ बजेको आसपासमा पेट दुख्न सुरु भएको थियो । जनस्वास्थ अधिकृत चन्दसहित स्वास्थकर्मीको टोलीले तत्काल उपचार सुरु गरी थप उपचारका लागि बुर्तिबाङ अस्पताल पठाएको थियो । 

‘हामीले राती पेटको दुखाई कम गर्न त सफल भयौं थप जोखिम नहोस् भनेर उहाँलाई राती नै सवारी खोजेर थप उपचारको लागि बुर्तिबाङ अस्पताल पठायौं’ चन्दले भने ।

अचेत अवस्थामा बुधबार बिहान ७ बजेतिर बुर्तिबाङ अस्पतालमा पु¥याइएकी सुनारको उपचार थालेका अस्पतालका स्वास्थ्यकर्मीले आन्तरिक अत्यधिक रक्तस्राव भएको अनुमान गर्दै थप उपचारको लागि काठमाडौं रिफर गरेको थियो । काठमाडौं लाने तयारी भएपनि अवस्था जटिल भएपछि पोखरामै ल्यान्ड भएको थियो । 

गण्डकी प्रदेशमा गत वर्ष ३ जना सुत्केरीको हेली उद्धार गरिएको थियो । गण्डकी प्रदेश सरकारले हेलिकप्टरमार्फट एयर लिफ्टीङ गरी हालसम्म ६७ जनाको हेली उद्धार गरिसकेको छ ।