विश्वकै चर्चित युट्युबर मिस्टरबिस्टले थिया बुइसेनसँग गरे विवाह


काठमाडौं ।

विश्वकै सबैभन्दा लोकप्रिय युट्युबरमध्येका एक मिस्टरबिस्ट (जिमी डोनाल्डसन) ले आफ्नी प्रेमिका तथा कन्टेन्ट क्रिएटर थिया बुइसेनसँग विवाह गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीहरूले क्यारिबियनस्थित नेकर आइल्याण्डमा पारिवारिक सदस्य र निकट साथीभाइको उपस्थितिमा निजी समारोहबीच विवाह गरेका हुन्। विवाह समारोहमा करिब ७० जना अतिथिको सहभागिता रहेको बताइएको छ।

रिपोर्टअनुसार विवाह समारोह एक सातासम्म चलेको थियो। यस अवधिमा अतिथिहरूले स्नोर्कलिङ, काइटसर्फिङलगायत विभिन्न गतिविधिमा सहभागी भएका थिए। विवाहलाई भड्किलोभन्दा पनि निजी र पारिवारिक बनाउन दुवैको चाहना रहेको जनाइएको छ।

मिस्टरबिस्ट र थिया बुइसेनको भेट सन् २०२२ मा दक्षिण अफ्रिकामा भएको थियो। लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरूले सन् २०२४ को क्रिसमसमा इन्गेजमेन्ट गरेका थिए।

विवाहपछि सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ। विश्वभरका प्रशंसक, कन्टेन्ट क्रिएटर तथा विभिन्न चर्चित व्यक्तित्वहरूले नवविवाहित जोडीलाई बधाई दिएका छन्।

मिस्टरबिस्ट हाल विश्वकै सबैभन्दा धेरै सब्स्क्राइबर भएका व्यक्तिगत युट्युबर हुन्। परोपकारी भिडियो, चुनौतीपूर्ण कन्टेन्ट र ठूलो रकमको पुरस्कार वितरणमार्फत उनले विश्वव्यापी लोकप्रियता हासिल गरेका छन्।