भारतमा डेँगु खोपको ऐतिहासिक स्वीकृति

नेपालसहित दक्षिण एसियाका मुलुकलाई डेँगु नियन्त्रणमा नयाँ आशा


काठमाडौँ ।

डेँगुको बढ्दो जोखिमबीच भारतले पहिलोपटक डेँगुविरुद्धको खोपलाई बजारमा प्रयोगका लागि स्वीकृति दिएको छ । भारतको केन्द्रीय औषधी मानक नियन्त्रण संगठनअन्तर्गत ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले जापानी औषधी कम्पनी टाकेडा फार्मास्युटिकल्सले विकास गरेको ‘क्युडेंगा’ खोपलाई ४ देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न बजार अनुमति प्रदान गरेको हो । यो अनुमति न्यु ड्रग एण्ड क्लिनिकल ट्रायल रुल्स, २०१९ अन्तर्गत विस्तृत गुणस्तर, सुरक्षा र प्रभावकारिता मूल्याङ्कनपछि दिइएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारत सरकारले खोपलाई स्वीकृति दिए पनि सर्वसाधारणका लागि यसको व्यावसायिक उपलब्धता भने सन् २०२७ को पहिलो ६ मेदेखि सुरु हुने अपेक्षा गरिएको टाकेडाले जनाएको छ । प्रारम्भिक चरणमा खोप निजी स्वास्थ्य संस्थामार्फत उपलब्ध गराइने योजना छ ।
स्वीकृत खोप दुई मात्रामा दिइनेछ । पहिलो मात्रा लगाएपछि तीन महिनापछि दोस्रो मात्रा लगाइनेछ ।

यो खोपले डेँगु भाइरसका चारै प्रकारविरुद्ध प्रतिरक्षा विकास गर्ने क्षमता राख्छ । विशेष कुरा, यो खोप लगाउनुअघि व्यक्तिलाई पहिले डेँगु लागेको थियो कि थिएन भन्ने परीक्षण गर्न आवश्यक पर्दैन । क्लिनिकल परीक्षणका क्रममा खोपले प्रयोगशालाबाट पुष्टि भएका डेँगु संक्रमणविरुद्ध करिब ८० दशमलव २ प्रतिशत प्रभावकारिता र डेँगुका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्थालाई ९० दशमलव ४ प्रतिशतसम्म घटाउने देखिएको छ ।

यो खोप यसअघि नै युरोपेली संघ, बेलायत, स्विट्जरल्यान्ड, ब्राजिल, इन्डोनेसिया, अर्जेन्टिनालगायत ४२ देशमा नियामक स्वीकृति प्राप्त गरिसकेको छ । साथै, यसले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रि–क्वालिफिकेसन पनि प्राप्त गरेको छ, जसले यसलाई युनिसेफजस्ता अन्तर्राष्ट्रिय निकायमार्फत खरिद गर्न सकिने बनाएको छ ।

नेपाललाई के फाइदा ?
भारतमा खोपले नियामक स्वीकृति पाएसँगै नेपालजस्ता डेँगु प्रभावित मुलुकका लागि पनि नयाँ सम्भावना खुलेको जनस्वास्थ्य विज्ञहरूको भनाइ छ । भारतसँग खुला सीमा, औषधी आपूर्ति र स्वास्थ्य सामग्रीको सहज व्यापारिक सम्बन्ध भएकाले भविष्यमा नेपालमा पनि यो खोप उपलब्ध गराउने प्रक्रिया सहज हुन सक्छ । भारतमा स्वीकृति प्राप्त भएको आधारमा मात्र नेपालमा खोप प्रयोग गर्न मिल्दैन । नेपालमा कुनै पनि नयाँ खोप प्रयोग गर्न औषधी व्यवस्था विभागको दर्ता तथा स्वीकृति आवश्यक हुन्छ । त्यसपछि मात्र सरकारले राष्ट्रिय खोप कार्यक्रम वा निजी क्षेत्रमार्फत यसको प्रयोगबारे निर्णय गर्न सक्छ ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार भारतमा उत्पादन र आपूर्ति बढेपछि दक्षिण एसियामा खोपको उपलब्धता, मूल्य र आपूर्ति प्रणालीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । विशेषगरी नेपाल, भुटान, बंगलादेश र श्रीलंकाजस्ता डेँगु प्रभावित मुलुकहरूले भविष्यमा आवश्यकताअनुसार यो खोप आयात गर्ने सम्भावना बलियो बनेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको करिब आधा जनसङ्ख्या डेँगुको जोखिममा छ । हरेक वर्ष १० करोडदेखि ४० करोडसम्म सङ्क्रमण हुने अनुमान गरिएको छ । जलवायु परिवर्तन, अनियन्त्रित सहरीकरण र बढ्दो तापक्रमका कारण दक्षिण एसियामा डेँगु तीव्र गतिमा फैलिरहेको छ । नेपालमा पनि पछिल्ला वर्षहरूमा डेँगु सबै प्रदेशमा फैलिँदै गएको छ । यस्ता अवस्थामा भारतको यो निर्णयले केवल भारतलाई मात्र होइन, सम्पूर्ण दक्षिण एसियामा डेँगु नियन्त्रणका लागि वैज्ञानिक र नीतिगत रूपमा महत्वपूर्ण आधार तयार गरेको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको विश्लेषण छ ।