वडाको सेवा चाहिए एआई सहायकलाई सोध्नुहोस्


ललितपुर ।

‘नमस्कार, म ललितपुर महानगरपालिका वडा नं–३ को एआई सहायक हुँ । म तपार्इँलाई के सहयोग गर्न सक्छु ? अथवा तपाईँ कुनै गुनासो दर्ता गर्न चाहनुहुन्छ ?’ यो रिसेप्सनिष्टको बोली होइन, कृत्रिम बौद्धिकता (एआई) को हो । ११ हजार ३७६ जनसङ्ख्या रहेको ललितपुर महानगरपालिकाको ३ नम्बर वडाले गुनासो सुन्ने सहयोगीको रूपमा एआई प्रयोग गरेको छ । वडावासीको कुनै गुनासो भए आजैबाट २४ सै घण्टा एआई सहायकमार्फत दर्ता गराउन सक्नुहुन्छ ।

सम्भवतः नेपालमै पहिलो ललितपुर महानगरपालिका–३ ले गुनासो सुन्न बनाइएको एआईले त्यस वडाको सबै गुनासो रेकर्ड गरेर राख्न सक्छ । रेकर्डको आधारमा वडाले कार्यान्वयन गर्नेछ । ‘तपाईँको समस्या मेरो समाधान’यो भनाइलाई सार्थक बनाउन वडामा एआईको माध्यमबाट सेवा दिन र गुनासो सुन्न कृत्रिम बौद्धिकता तयार गरेको वडा अध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिनुभयो ।

एआई सहायकको माध्यमबाट गुनासो सुन्न र समस्या समाधान गर्न वडाले नयाँ व्यवस्थाको सुरुवात गरेको जानकारी दिँदै अध्यक्ष महर्जनले भन्नुभयो– ‘अब वडामा धाएर कुनै गुनासो टिपाउनु पर्दैन, केही कुराको जानकारी लिन वडामा धाइरहनुपर्दैन । वडाको धर्म, संस्कार संस्कृति, शिक्षा, स्वास्थ्य, सम्पदा, पर्यटकीय क्षेत्रलगायतको बारेमा जानकारी लिन एआईलाई सोध्दा हुन्छ ।’

वडाले तयार गरेको वडा नं–३ को परिचय पुस्तकमा उल्लेख भएका सबै विषय एआईमा रेकर्ड गरिएको छ । यो पुस्तकमा भएका सबै विषयमा जानकारी लिन र गुनासो टिपाउन सकिने वडाअध्यक्ष महर्जनले बताउनुभयो ।

वडावासी र स्थानीयबीचको सेवा बिस्तार गर्न एआई सहायक सेवा निर्माण गर्ने कम्पनी एआई डेभलपर्स ब्ल्यु ओभलका प्रदीप श्रेष्ठले यो एआई सहायकले नागरिकता, घरबाटो, फोहोर व्यवस्थापन, सम्पदा र त्यसको अवस्थालगायत सयौँ सेवाको बारेमा जानकारी दिने बताउनुभयो । उहाँले भन्नुभयो – ‘गुनासो टिपाउन वा वडाले दिने गरेको सेवालगायत विषयमा जानकारी लिन ०१५९७००७५ मा टेलिफोन गर्नुपर्नेछ । नभए टेक्स वा भ्वाइसबाट पनि गुनासो र सेवाको बारेमा जानकारी लिन सकिन्छ ।’ एआई सहायकलाई जानकारी टिपाउँदा आफ्नो परिचय र सम्पर्क नम्बर दिनुपर्नेछ । कार्यालय खुलेको समयमा वडाले रेस्पोन्स गरेर गुनासो भएमा तत्काल वडाको टीमले समस्या समाधान गर्नेछ ।

करिब एक महिना लगाएर तयार गरेको प्रविधि सम्भवतः स्थानीयतहको वडामध्ये ललितपुर महानगरपालिका –३ मै पहिलो हुनसक्छ । एआई सहायक च्याज जिपिटी जस्तै हो । तर यो एआईलाई ३ नम्बर वडाको बारेमा मात्र जानकारी दिन तयार पारिएको हो ।

आजबाट सुरु भएको यो एआईले २४सै घण्टा सेवा दिने भएकाले सबैलाई गुनासो र जानकारी टिपाउन आग्रह गरिएको जानकारी दिँदै वडा अध्यक्ष महर्जनले भन्नुभयो –‘वडाले तत्कालको लागि नेपाली र पछि विभिन्न भाषामा गुनासो सुन्ने र उत्तर दिने व्यवस्था गर्न लागेका छौँ ।’
एआई सहायकले नागरिकता सिफारिस, घरबाटो, नक्सा, जथाभावी पार्किङ नियन्त्रण, फोहोर व्यवस्थापन, स्वास्थ्य सेवा, जेष्ठ नागरिक सेवालगायतका दर्जनाँै विषयमा गुनासो गर्न र सेवा लिने विषयमा जानकारी लिन सकिने व्यवस्था छ ।