साफ च्याम्पियनसिप नोभेम्बर ४ देखि बंगलादेशमा हुने


काठमाडौं ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले २०२६ को साफ च्याम्पियनसिप आगामी नोभेम्बर ४ देखि १७ तारिखसम्म बंगलादेशले आयोजना गर्ने घोषणा गरेको छ । 

दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यो सबैभन्दा ठूलो पुरुष फुटबल प्रतियोगिता सुरुमा सेप्टेम्बरमा गर्ने भनिए पनि साफले मे महिनामा यसलाई सारेर नोभेम्बरमा पुर्याउने निर्णय गरेको थियो । साफको सबैभन्दा ठूलो देश भारतले फिफा आसियन कपमा सहभागिता जनाउन पाओस् भनेर यो निर्णय गरिएको हो । उक्त प्रतियोगितामा पाकिस्तानले पनि खेल्ने अवसर पाएको छ । यसअघि साफले यो कप सेप्टेम्बर २१ देखि अक्टोबर ६ सम्म गर्ने तय गरेको थियो र पहिलो फिफा आसियन कप पनि सोही मितिमा हुने तय भएको छ ।

साफ च्याम्पियनसिप दुई वर्षको अन्तरालपछि आयोजना हुन लागेको हो र यो फिफाको अन्तर्राष्ट्रिय ब्रेकभन्दा छ दिन अगाडि सुरु हुनेछ । फिफाको अन्तर्राष्ट्रिय ब्रेकको समय नोभेम्बर ९ देखि १७ तारिखसम्म हुनेछ । साफका सात राष्ट्रमध्ये नेपाल भने फिफाद्वारा निलम्बनमा परेको छ । साफले आगामी शनिबार बंगलादेशको ढाकामा च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक गर्ने कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

टोलीको ड्र गर्ने कार्यक्रम भने अगस्ट १ मा भुटानको थिम्पुमा हुनेछ । सम्भवतः त्यसबेलासम्म पनि नेपालको निलम्बन फुकुवा नहुन सक्छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का निर्णयहरूमा अनावश्यक प्रभाव पारिएको आरोप लागेपछि नेपाललाई निलम्बन गर्ने कदम चालिएको थियो । नोभेम्बरसम्म यी मामिलाहरूको किनारा लागे पनि नेपालले साफको यो सबैभन्दा ठूलो प्रतियोगितामा भाग लिनेछ भन्ने कुनै निश्चित छैन ।

साफका महासचिव पुरुषोत्तम कट्टेलले विश्वकपको समापन नजिकै साफको यो ठूलो प्रतियोगिताको मिति घोषणा हुनु दक्षिण एसियाभरका फुटबल समर्थकहरू अत्यधिक खुसी भइरहेको समयमा एक महत्त्वपूर्ण कदम भएको बताएका छन् । विश्वकपका दौरान बंगलादेशी फुटबल समर्थकहरूले विश्व सञ्चारमाध्यमको ध्यान खिचेका थिए । विश्वकपको फाइनलमा अर्जेन्टिनालाई समर्थन गर्दा सो देशले देखाएको उत्साह असाधारणस्तरको रहेको चर्चा गरिएको थियो । कट्टेलले बंगलादेशको यही उत्साह र त्यही देशमा साफ च्याम्पियनसिप आयोजना हुने घोषणा हुनु खुसीको कुरा भएको बताएका छन् ।

साफको वेबसाइटलाई दिएको अन्तर्वार्तामा कट्टेलले भने, “विश्वकप समाप्त भएको केही दिनमै यो घोषणा गर्नु दक्षिण एसियाली फुटबल समर्थकहरू उच्च मनोबलमा रहेका बेला गरिएको कार्य हो।” उनले थपे, “बंगलादेशमा फुटबलप्रतिको आकर्षण तीव्र गतिमा बढिरहेको यस समयमा त्यहाँ च्याम्पियनसिप आयोजना हुनु निकै राम्रो कुरा हो । हामी आशा गर्छौं कि बंगलादेशले खेलाडी र समर्थकहरूको मनमा सधैँ बसिरहने एक सफल च्याम्पियनसिप आयोजना गर्नेछ ।”

फिफाको अन्तर्राष्ट्रिय ब्रेकअघि आयोजना हुँदा केही टोलीलाई कठिनाइ

फिफाको विन्डोभन्दा अगाडि च्याम्पियनसिप आयोजना हुँदा विदेशमा खेलेर टिममा आबद्ध हुने खेलाडीहरूको संख्या बढी भएका टोलीहरू, विशेष गरी श्रीलंका, पाकिस्तान र बंगलादेशलाई समस्या पर्नेछ।  यी तीन देशका टिमहरू विभिन्न युरोपेली देशहरूमा खेल्ने खेलाडीहरूमा आधारित छन् । यी खेलाडीहरूले फिफाको आधिकारिक अवधिमा मात्र आफ्नो राष्ट्रिय टोलीबाट खेल्नका लागि क्लबको अनुमति (रिलीज) पाउनेछन् ।

श्रीलंकाले सुरुमा जुनको सुरुमा माल्दिभ्समा आयोजित डायमण्ड जुबली इन्टरनेसनल फुटबल प्रतियोगितामा खेल्ने निमन्त्रणा स्वीकार गरेको थियो । तर, उनीहरूका सञ्चारमाध्यमका अनुसार प्रतियोगिता समाप्त नभएसम्म खेलाडीहरूले क्लबबाट अनुमति पाउनमा कठिनाई भएपछि उनीहरूले आफ्नो नाम फिर्ता लिन बाध्य हुनुपरेको थियो । डायमण्ड जुबलीको फाइनल खेल जुन १० मा भएको थियो भने फिफाको अन्तर्राष्ट्रिय ब्रेक जुन ९ मा समाप्त भएको थियो । यसैकारण, फाइनल खेलअघि नै केही खेलाडीहरूको अनुमति अवधि समाप्त हुने भएपछि श्रीलंकाले उक्त प्रतियोगितामा भाग नलिने निर्णय गर्‍यो ।

फिफाको अन्तर्राष्ट्रिय ब्रेकबाहेक कुनै पनि महासंघलाई आफ्ना राष्ट्रिय टोलीका लागि विशेष खेलाडीहरूलाई रोकेर राख्ने अधिकार हुँदैन । यदि क्लबहरूले त्यो अवधि समाप्त भएपछि खेलाडीहरूलाई फिर्ता माग गरेमा, राष्ट्रिय टोलीले खेलाडीहरूलाई रोकेर राख्ने अधिकार राख्दैन । यदि प्रतियोगिता फिफाको विन्डोभित्रै आयोजना गरिएको भए, साफले प्रतियोगिता समूह चरणको ढाँचामा सञ्चालन गर्नुपर्ने हुन्थ्यो । सोही ढाँचामा आयोजना हुने अघिल्ला साफ प्रतियोगिताहरू करिब १० दिनमै सकिन्थे । 

तर, यसअघि प्रतियोगिताहरू लिग ढाँचामा सुरु हुन्थे, जहाँ टिमहरूलाई धेरै खेल खेल्ने अवसर मिल्थ्यो । प्रतियोगिताको ढाँचाबारे साफले हालसम्म कुनै पनि आधिकारिक टिप्पणी गरेको छैन । बंगलादेशले यसअघि सन् २०१८ मा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । तत्कालीन समयमा बंगबन्धु राष्ट्रिय रंगशालाको रूपमा चिनिने ढाकाको राष्ट्रिय रंगशालामा भएको उक्त प्रतियोगिताको उपाधि माल्दिभ्सले जितेको थियो ।