ठेक्का मिलाइदिएबापत घुस लिएको आरोपमा प्रदीप अधिकारीविरुद्ध मुद्दा दायर


काठमाडौँ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी छुट्टाछुट्टै मुद्दा दायर गरेको छ।

ठेक्का प्रक्रियामा अनियमितता गरी ठेकेदारबाट घुस लिएको र उक्त रकम अवैध रूपमा लुकाएको आरोपमा आयोगले अधिकारीविरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार अधिकारीले क्यानको महानिर्देशक रहँदा विभिन्न ठेक्का स्वीकृत गर्ने, अनुगमन गर्ने तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिएबापत १ करोड ७१ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट खुलेको छ। उक्त रकम उनले गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट लिएको आयोगको दाबी छ।

आयोगका अनुसार घुसबाट प्राप्त रकम लुकाउन अधिकारीले ललितपुर महानगरपालिका–५ मा श्रीमतीको नाममा जग्गा खरिद गरेका थिए। उक्त जग्गाको वास्तविक कारोबार मूल्य लुकाई सरकारी लिखतमा ९१ लाख रुपैयाँ मात्र देखाइएको अख्तियारको दाबी छ।

अवैध स्रोतबाट प्राप्त रकमलाई वैध देखाउन सरकारी कागजातमा फरक विवरण राख्ने तथा बैंक खातामार्फत अस्वाभाविक कारोबार गरेको भन्दै आयोगले अधिकारीमाथि सम्पत्ति शुद्धीकरणको कसुरसमेत लगाएको छ।

अख्तियारले दुवै मुद्दामा अधिकारीसँगै गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकाललाई पनि प्रतिवादी बनाएको छ। ढकालमाथि घुस उपलब्ध गराउने तथा सम्पत्ति शुद्धीकरणमा सहयोग गरेको आरोप लगाइएको छ।

आयोगले अधिकारीविरुद्ध दुवै मुद्दामा १ करोड ७१ लाख रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग गरेको छ। साथै, घुस रकमबाट खरिद गरिएको ललितपुरस्थित जग्गा जफत गर्नसमेत मागदाबी गरिएको छ।