काठमाडौँ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपालको आर्थिक विकास, लगानी विस्तार र दिगो वृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (एससीबीएनएल) ले भारत तथा दक्षिण एसियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पी.डी. सिंहको नेपाल भ्रमणका क्रममा यस्तो प्रतिबद्धता जनाएको हो। सिंहले जुलाई १९ देखि २१ सम्म नेपालको आधिकारिक भ्रमण गरेका थिए।
भ्रमणका क्रममा सीईओ सिंहले नेपालका विकास प्राथमिकता, लगानीका अवसर तथा दिगो आर्थिक वृद्धिका लागि आवश्यक सहयोगका विषयमा सरकारी तथा नियामक निकायका उच्च अधिकारीहरूसँग छलफल गरेका थिए।
उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र नेपाल राष्ट्र बैंकका उपगभर्नर किरण पण्डितसँग भेटवार्ता गरी नेपालको आर्थिक सम्भावना र लगानी विस्तारका विषयमा छलफल गरेका थिए।
भ्रमणकै अवसरमा एससीबीएनएलले बैंकका प्रमुख कर्पोरेट कार्यकारी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा बहुपक्षीय संस्थाका प्रतिनिधिहरूको सहभागितामा नेटवर्किङ कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ सिंहले स्ट्यान्डर्ड चार्टर्डको विश्वव्यापी सञ्जाल र विशेषज्ञताले नेपालजस्ता बजारलाई अन्तर्राष्ट्रिय लगानी तथा व्यापारसँग जोड्न सहयोग पुर्याउने बताए।
“हामी दक्षिण एसियाली अर्थतन्त्रलाई विश्वव्यापी बजारसँग जोड्न सक्षम छौँ। सीमापार कारोबार, ऋण, परामर्श, पुँजी तथा व्यापार समाधानमा हाम्रो विशेषज्ञताले ग्राहक र बजारको विकासलाई सहयोग पुर्याउँछ,” उनले भने।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल सन् १९८७ देखि नेपालमा सञ्चालनमा रहेको छ। बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत स्वामित्व रहेको छ भने बाँकी २९.७९ प्रतिशत हिस्सा नेपाली सर्वसाधारणको रहेको छ। बैंक नेपाल स्टक एक्सचेन्जमा समेत सूचीकृत छ।
बैंकले नेपालमा सञ्चालन भइरहेको एक मात्र अन्तर्राष्ट्रिय बैंकका रूपमा आफूलाई प्रस्तुत गर्दै आएको छ। साथै, वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका आधारमा ICRA नेपालबाट लगातार छैटौँ वर्ष ‘ICRANP-IR AAA’ मूल्याङ्कन प्राप्त गरेको जनाएको छ।











प्रतिक्रिया