काठमाडौँ।
प्रधानमन्त्री वालेन्द्र शाहले तयारी पोशाक उद्योगले भोगिरहेका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँगको छलफलमा शाहले उद्योगले भोगिरहेका समस्या समाधान र उत्पादन तथा निर्यात प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।
सो क्रममा प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगको वर्तमान अवस्थाका बारेमा जानकारी लिएको नेपाल तयारी पोशाक उद्योग संघका पशुपतिदेव पाण्डेले जानकारी दिए ।
सन् २००५ अघिको अवस्थामा जस्तै नेपाली तयारी पोशाक उद्योगलाई पुनर्जीवित गरी देशको अर्थतन्त्रलाई सबल बनाउने विषयमा गहन छलफल भएको उनले बताए । छलफलका क्रममा मन्त्रालयमा रोकिएका र अड्केका समस्याहरूलाई तुरुन्तै बैठक बसी समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको पाण्डेको भनाइ छ ।
प्रधानमन्त्री शाहले २०औँ वर्षदेखि बन्द रहेका तयारी पोसाकका रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याई आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने योजना रहेको सुनाएका छन् ।
साथै कपडा/पोशाक उद्योगलाई सुदृढ बनाउन टेक्स्टाइल काउन्सिल गठन गरी यस क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गरिने उनको प्रतिबद्धता थियो ।
अमेरिकातर्फको निर्यातमा देखिएको प्रयोगशाला/परीक्षण सम्बन्धी अवरोध फुकाउन परराष्ट्र मन्त्रालयमार्फत तत्काल सहजीकरण गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।











प्रतिक्रिया