एक महिनापछि नियन्त्रणमा आयो ‘माडीगज’, डार्ट गरेर सुरक्षित रूपमा ल्याइयो

564
Shares

चितवन ।

चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोष्टबाट करिब एक महिनाअघि एक्कासि हराएको सरकारी हात्ती ‘माडीगज’लाई अन्ततः निकुञ्जको प्राविधिक टोलीले सुरक्षित रूपमा नियन्त्रणमा लिन सफल भएको छ। लामो खोजीपछि सोमबार लामिचौर क्षेत्रबाट डार्ट (बेहोस बनाउने औषधियुक्त सुई) प्रयोग गरी हात्तीलाई नियन्त्रणमा ल्याइएको हो।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार माडीगज गिदेनी पोष्टमा नियमित रूपमा चरिरहेका बेला नजिकै रहेको गैँडाको आवाज सुनेपछि झस्किएर जंगलतर्फ भागेको थियो। त्यसयता हात्तीको खोजीका लागि निकुञ्जका कर्मचारी, प्राविधिक टोली र माउतेहरू निरन्तर परिचालन भएका थिए। विभिन्न स्थानमा खोजी अभियान सञ्चालन गरिए पनि हात्ती लामो समयसम्म फेला परेको थिएन।

सोमबार बिहान लामिचौर नजिकको जंगल क्षेत्रमा हात्ती देखिएपछि प्राविधिक टोलीले विशेष योजना बनाएर डार्ट प्रयोग गरेको थियो। औषधियुक्त सुई शरीरमा प्रवेश गरेपछि हात्ती बिस्तारै लठ्ठिएर नियन्त्रणमा आएको निकुञ्जले जनाएको छ। त्यसपछि आवश्यक सुरक्षा सतर्कतासहित हात्तीलाई लामिचौर पोष्टमा ल्याइएको छ।

तेह्र वर्षको माडीगज अहिले लामिचौर पोष्टमा माउतेको विशेष निगरानी र स्याहारमा राखिएको छ। भाग्ने क्रममा लामो समय जंगलमा भौतारिँदा हात्ती शारीरिक रूपमा थकित हुने भएकाले उसको स्वास्थ्य अवस्था निरन्तर परीक्षण भइरहेको निकुञ्जले जनाएको छ। पर्याप्त आराम, पोषणयुक्त आहार र नियमित हेरचाहपछि स्वास्थ्य सामान्य बनेसँगै माडीगजलाई पुनः गिदेनी पोष्टमा फर्काइने तयारी गरिएको छ।

निकुञ्जका अधिकारीहरूका अनुसार प्रशिक्षित सरकारी हात्तीहरू कहिलेकाहीँ गैँडा, बाघजस्ता वन्यजन्तुको उपस्थितिबाट तर्सिएर भाग्ने गर्छन्। विशेषगरी हात्ती ‘मात’ (Musth) अवस्थामा पुगेका बेला उनीहरू बढी उत्तेजित हुने भएकाले नियन्त्रणबाहिर जान सक्ने सम्भावना पनि रहन्छ। यस्ता अवस्थामा भागेका हात्तीलाई बेहोस पारेर नियन्त्रणमा लिनुपर्ने हुन्छ भने त्यसपछि केही दिन विशेष स्याहारसुसार गरेपछि उनीहरू पुनः सामान्य अवस्थामा फर्किने अनुभव निकुञ्जसँग रहेको छ।

चितवन राष्ट्रिय निकुञ्जमा हाल ५३ वटा वयस्क र तीन वटा बच्चा गरी ५६ वटा सरकारी हात्ती रहेका छन्। ती हात्ती निकुञ्ज सुरक्षा, वन्यजन्तु अनुगमन, चोरी–सिकार नियन्त्रण, उद्धार तथा पर्यटक व्यवस्थापनजस्ता विभिन्न संरक्षण गतिविधिमा महत्वपूर्ण रूपमा परिचालित हुँदै आएका छन्।

माडीगज सुरक्षित रूपमा फिर्ता ल्याइएपछि निकुञ्ज प्रशासनले राहत महसुस गरेको छ। निकुञ्जका अधिकारीहरूले सरकारी हात्ती संरक्षणसँगै उनीहरूको नियमित स्वास्थ्य परीक्षण, उचित स्याहार र सुरक्षित व्यवस्थापनलाई थप प्रभावकारी बनाइने बताएका छन्।