ललितपुर।
जेवि एजुकेशनको आयोजना तथा तथ्यपाटी डटकमको सहकार्यमा ‘विकासका लागि पठन संस्कृति’ सम्बन्धी तेस्रो संवाद श्रृंखला ललितपुरको ऐतिहासिक पाटन माध्यमिक विद्यालयमा भव्य रूपमा सम्पन्न भएको छ।
ललितपुर महानगरपालिका वडा नं. ११ का जनप्रतिनिधिहरू, पूर्व प्रशासक, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाहरूको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा मुख्य प्रस्तुतीकरण राख्दै जेवि एजुकेशनका प्रमुख एवम् शिक्षाविद् दीपकराज जोशीले समृद्ध समाज र व्यक्तिको सर्वाङ्गीण विकासका लागि पठन संस्कृति अपरिहार्य रहेको बताउनुभयो। मानिसभित्र सुसुप्त अवस्थामा रहेको क्षमता उजागर गर्न, धैर्यता तथा समानुभूति बढाउन र सोचमा सकारात्मक परिवर्तन ल्याउन पुस्तक अध्ययन नै मुख्य आधार भएको उहाँको भनाइ थियो। केवल भवन वा भौतिक पूर्वाधार निर्माण हुनु मात्रै विद्यालयको उपलब्धि नभई नेतृत्व, शिक्षक र विद्यार्थीको सोचले वास्तविक शिक्षा र समाजको निर्माण गर्ने उहाँले स्पष्ट पार्नुभयो। फुर्सदका दिनमा पुस्तकालय बन्द हुने परिपाटीको अन्त्य गर्दै वडास्तरबाटै पुस्तकालय र खेलकुद मैदान जस्ता पूर्वाधारलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो। बालबालिकामा पठन संस्कृति बसाल्न अभिभावकले स्क्रिन समय घटाएर घरमा पठन वातावरण बनाउनुपर्ने र विद्यालयहरूमा दैनिक १५ मिनेट अनिवार्य पुस्तक पढ्ने ‘डियर बेल’ जस्ता अवधारणा लागू गर्न उहाँले सुझाव दिनुभयो।

नेपाल सरकारका पूर्व सहसचिव जीवनकुमार श्रेष्ठले ऐतिहासिक पुस्तकालयहरूमा पाठकको उपस्थिति घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। तनहुँको बन्दीपुरस्थित वि.सं. २००१ मा स्थापित ऐतिहासिक पद्म पुस्तकालयको उदाहरण दिँदै उहाँले पाठ्यक्रम उपयोगी पुस्तकहरू खरिद गरेर राखिए पनि आधुनिक प्रविधिको अभावमा पुस्तकालयहरू रित्तै रहने स्थिति बनेको बताउनुभयो। वर्तमान समयमा मानिसहरू मोबाइल र प्रविधितर्फ बढी आकर्षित भएकाले परम्परागत पुस्तकालयलाई कम्प्युटर, ठूला स्क्रिन र टेलिमेडिसिनजस्ता आधुनिक प्रविधिसँग जोडेर जीवन्त बनाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।

त्यसैगरी, ललितपुर महानगरपालिका वडा नं. ११ का वडा सचिव जनार्दन पौडेलले पुस्तकमा रहेको ज्ञान पाठकसम्म नपुगेसम्म पुस्तकले पूर्णता नपाउने धारणा व्यक्त गर्नुभयो। “पुरानो कोट लगाऊ, नयाँ पुस्तक किना” भन्ने प्रसिद्ध भनाइलाई स्मरण गराउँदै उहाँले लेखकको गहिरो साधना र भावनाबाट सिर्जित मर्मस्पर्शी रचनाले मात्र पाठकको सोच र भावनामा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताउनुभयो।

पठन संस्कृति सुधारका लागि विद्यालयस्तरबाटै पहल हुनुपर्नेमा जोड दिँदै पाटन माध्यमिक विद्यालयकी सहायक प्रधानाध्यापक अनिता पौडेलले आफ्ना प्रयासहरूबारे जानकारी गराउनुभयो। विद्यार्थीहरूले पुस्तकालयलाई कक्षाकोठाबाट उम्किने बाटोका रूपमा मात्र प्रयोग गर्ने समस्या देखिएपछि विद्यालयले कक्षा १ मा ‘रिडिङ कर्नर’ स्थापना गरेको, उत्कृष्ट पाठकलाई वार्षिक उत्सवमा पुरस्कृत गर्ने व्यवस्था गरेको र प्रविधिको प्रयोग गर्दै मोबाइल एपमार्फत डिजिटल पुस्तकालयको पहुँच उपलब्ध गराएको उहाँले बताउनुभयो।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष अरोज कुमार खड्गीले भौतिक पूर्वाधार जस्तै शिक्षा र पठन संस्कृति पनि विकासको मुख्य आधार भएको बताउनुभयो। विगतको शारदा पुस्तकालयको स्मरण गर्दै उहाँले महानगरपालिकाले हाल पुलचोकमा नयाँ पुस्तकालय स्थापना गरी उद्घाटनको तयारी गरिरहेको जानकारी दिनुभयो। डिजिटल माध्यमको आफ्नै महत्व भए पनि भौतिक पुस्तक हातमा लिएर पढ्दा मिल्ने अनुभूति र स्वच्छता विशेष हुने उल्लेख गर्दै उहाँले समाज र देशको समग्र विकासका लागि पठन संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। वडाभित्रका विभिन्न क्षेत्रका दिग्गज व्यक्तित्वहरूको सहभागिताले पठन संस्कृति अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल समाचारपत्रका सहसम्पादक ईश्वरराज ढकाल, तथ्यपाटी डटकमका अध्यक्ष विधान रिजालसहितले आफ्ना भनाइ राख्नुभएको थियो ।











प्रतिक्रिया