उदयपुरमा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

0
Shares

उदयपुर ।

 जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार उदयपुरमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएकाले उदयपुर प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

जिल्लाका विभिन्न स्थानमा आकस्मिक बाढी, पहिरो, डुबान, कटान तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमराज उपाध्यायद्वारा जारी सूचनामा विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि सबै सरोकारवाला निकाय तथा नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रशासनले आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे आसपास यात्रा नगर्न, पहिरोको जोखिम भएका स्थान तथा नदी किनारका बस्तीका बासिन्दाले सुरक्षित स्थानमा बस्न र अनावश्यक रूपमा नदी तथा खोला किनार नजान आग्रह गरेको छ । साथै डुबानको जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित तथा उँचो स्थानको पहिचान गरी आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ ।

कमजोर भू–बनोट भएका क्षेत्रमा वर्षासँगै पहिरो जान सक्ने जोखिम रहेकाले यात्रा गर्दा तथा भिरालो क्षेत्रमा बसोबास वा आवतजावत गर्दा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

यसैगरी, पहिरोको जोखिम रहेका राजमार्ग तथा अन्य सडक खण्डमा आवश्यक परे तत्काल परिचालन गर्न मिल्ने गरी डोजर, एक्साभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति तथा विपद् प्रतिकार्यमा संलग्न संस्थाहरूलाई समन्वयमा रही तयारी अवस्थामा रहन पनि प्रशासनले अनुरोध गरेको छ । उदयपुर हुँदै यात्रा गर्ने यात्रुलाई सडकको अवस्था सम्बन्धित निकायबाट जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको छ ।

विपद्सम्बन्धी सूचना, समस्या, गुनासो वा सुझावका लागि १२३४, वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ हटलाइन नम्बरमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ । साथै जिल्ला प्रशासन कार्यालय उदयपुरका विपद् फोकल पर्सन ९८५२८३५०७९, जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी ९८२८३५५०८ तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र ०३५–४२३७४३ मा पनि सम्पर्क गर्न सकिने जनाइएको छ ।

जिल्ला प्रशासनले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा जानकारी लिँदै सुरक्षित रहन सबैमा अनुरोध गरेको छ ।