काठमाडौं ।
टाटा जेन्युइन पार्ट्सका आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले आफ्ना च्यानल पार्टनर्सका दोस्रो पुस्तालाई लक्षित गर्दै ‘च्यानल पार्टनर्स इन्टरप्रेनरशिप डेभलपमेन्ट २०२६’ कार्यक्रम सुरु गरेको छ।
कम्पनीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिप्रदी ट्रेनिङ सेन्टरको सहकार्यमा सञ्चालन हुने उक्त तालिमको औपचारिक शुभारम्भ गरिएको हो।
कम्पनीका अनुसार स्थापित अटोपार्ट्स व्यवसायको पुस्तान्तरणलाई सहज बनाउने, नयाँ पुस्ताका व्यवसायीलाई आधुनिक व्यवस्थापन र उद्यमशीलताबारे ज्ञान प्रदान गर्ने तथा युवालाई विदेश पलायनभन्दा स्वदेशमै व्यवसाय विस्तारका अवसर खोज्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
तालिमको उद्घाटन सिप्रदिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत (सीओओ) राजेश प्रसाद गिरी, सिप्रदी अटोपार्ट्सका सिनियर जनरल म्यानेजर युवराज बुढाथोकी तथा जनरल म्यानेजर (एचआर) शारदा रानाको उपस्थितिमा भएको थियो। पहिलो चरणमा कम्पनीका नौ जना च्यानल पार्टनर्सका उत्तराधिकारी युवा व्यवसायी सहभागी छन्।
उद्घाटन कार्यक्रममा सहभागी युवाहरूले तालिमबाट व्यवसाय सञ्चालन, व्यवस्थापन तथा विस्तारसम्बन्धी ज्ञान हासिल गर्ने अपेक्षा व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सिप्रदीका पदाधिकारीहरूले नेपालको अटोपार्ट्स व्यवसायलाई थप व्यवस्थित, डिजिटल र आधुनिक बनाउन नयाँ पुस्ताको भूमिका महत्वपूर्ण रहने बताएका छन्। उनीहरूले युवाले विदेश जानेभन्दा स्वदेशमै पारिवारिक व्यवसायलाई आधुनिक प्रविधि र नवीन सोचसँग जोडेर अघि बढाउँदा देशको अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने धारणा राखे।
कम्पनीले आगामी दिनमा यो तालिमलाई विस्तार गर्दै देशभर रहेका आफ्ना अन्य च्यानल पार्टनर्सका भावी उत्तराधिकारीलाई पनि समेट्ने योजना रहेको जनाएको छ। साथै, तालिममार्फत सहभागीलाई बजार विश्लेषण, व्यवसाय व्यवस्थापन, डिजिटल प्रविधिको प्रयोग तथा व्यवसाय विस्तारका रणनीतिबारे व्यावहारिक ज्ञान प्रदान गरिने कम्पनीको भनाइ छ।











प्रतिक्रिया