काठमाडौं ।
कुनै प्रश्न सोधिँदा धेरै मानिसले सुरुमा “मलाई यसको उत्तर थाहा छ” भन्ने आत्मविश्वास देखाउँछन्। तर केही क्षणपछि इन्टरनेटमा खोज्दा आफ्नो उत्तर गलत भएको थाहा पाउँछन्। अझ रोचक कुरा त के भने, खोजिसकेपछि भने आफू अझ धेरै जान्ने भएको अनुभूति हुन सक्छ। मनोवैज्ञानिकहरूका अनुसार यो आधुनिक डिजिटल जीवनशैलीसँग जोडिएको सामान्य व्यवहार हो।
सन् २०१५ मा येल विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले इन्टरनेटमा जानकारी खोज्ने व्यक्तिहरूले आफू वास्तवमा भन्दा बढी जान्ने अनुभूति गर्ने देखाएको छ। नौ वटा फरक प्रयोगमा एक हजारभन्दा बढी सहभागीलाई समेटिएको उक्त अध्ययनमा इन्टरनेटबाट जानकारी खोज्ने व्यक्तिहरूले आफ्नो ज्ञानको स्तर वास्तविकभन्दा बढी आँकलन गरेका थिए। अनुसन्धानकर्ताहरूका अनुसार मानिसले बाह्य स्रोतमा रहेको जानकारीलाई आफ्नै ज्ञानसँग मिसाउने प्रवृत्ति देखाउँछन्।
अध्ययनका प्रमुख अनुसन्धानकर्ता म्याथ्यु फिसरका अनुसार, “इन्टरनेटमा उपलब्ध जानकारीलाई मानिसले आफ्नै ज्ञानको हिस्सा ठान्न थाल्छन्।” यही कारण खोज प्रणाली प्रयोग गरेपछि मानिसलाई आफू पहिलेभन्दा धेरै जान्ने भएको जस्तो महसुस हुन सक्छ।
यसअघि सन् २०११ मा साइन्स पत्रिकामा प्रकाशित अर्को अध्ययनले पनि मानिसले जानकारी आफैं सम्झनुभन्दा त्यसलाई कहाँ भेटिन्छ भन्ने कुरा बढी सम्झने प्रवृत्ति विकास गरिरहेको देखाएको थियो। अनुसन्धानअनुसार, इन्टरनेट सजिलै उपलब्ध भएपछि मानिसको स्मृतिले जानकारीभन्दा पनि त्यसको स्रोतलाई बढी प्राथमिकता दिन थालेको छ।
सन् २०२१ मा प्रकाशित अर्को अध्ययनले पनि इन्टरनेट प्रयोग गरेर उत्तर खोज्ने व्यक्तिहरूले इन्टरनेटको ज्ञानलाई आफ्नै स्मृतिको ज्ञान ठान्ने सम्भावना बढी हुने देखाएको छ। अनुसन्धानले यसलाई आधुनिक डिजिटल युगमा बढ्दो मनोवैज्ञानिक प्रभावका रूपमा व्याख्या गरेको छ। विज्ञहरूका अनुसार इन्टरनेट ज्ञान प्राप्त गर्ने उत्कृष्ट माध्यम भए पनि त्यसमा निर्भर हुँदै जाँदा आफ्नो वास्तविक ज्ञान र बाह्य स्रोतबाट प्राप्त जानकारीबीचको भिन्नता छुट्याउन कठिन हुन सक्छ। त्यसैले कुनै जानकारी पढेपछि त्यसलाई बुझ्ने, विश्लेषण गर्ने र आफ्नै शब्दमा व्याख्या गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा नै वास्तविक ज्ञानको महत्वपूर्ण मापदण्ड मानिन्छ।











प्रतिक्रिया