साउने सोमबारका लागि पशुपतिनाथमा विशेष तयारी, बिहान ३ बजेदेखि दर्शन खुला


काठमाडौं ।

साउने सोमबारका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने लाखौं श्रद्धालुको भीडलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषले आवश्यक तयारी पूरा गरेको जनाएको छ। कोषका अनुसार दर्शन, सुरक्षा, ट्राफिक व्यवस्थापन तथा विशेष पूजासहितका सम्पूर्ण व्यवस्थापन अन्तिम चरणमा पुगेको छ।

कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार सोमबार बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारैवटा प्रवेशद्वार भक्तजनका लागि खुला गरिनेछ। मन्दिर बेलुका आरती सम्पन्न भएपछि राति ८ बजेसम्म दर्शनका लागि खुला रहनेछ भने विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्यान्ह १२ बजेसम्म मात्रै सञ्चालन हुनेछ।

दर्शन व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, मन्दिर पहरा गण, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक संघसंस्थाका स्वयंसेवक परिचालन गरिने कोषले जनाएको छ।

श्रद्धालुको चापलाई व्यवस्थित गर्न मन्दिर प्रवेशका लागि छुट्टाछुट्टै मार्ग निर्धारण गरिएको छ। सामान्य दर्शनार्थी, बोलबम यात्री, विशेष पूजा गर्ने भक्त, विशेष सहुलियत दर्शन लिने तथा ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति र बालबालिकाका लागि फरक–फरक प्रवेश मार्गको व्यवस्था मिलाइएको छ।

विशेष सहुलियत दर्शन बिहान ३ बजेदेखि आरती सम्पन्न नहुन्जेलसम्म सञ्चालन हुनेछ। त्यस्तै पञ्चामृत पूजा बिहान ८ः३० देखि मध्यान्ह १२ बजेसम्म गर्न सकिनेछ। पञ्चामृत पूजाको शुल्क तीन हजार १०० रुपैयाँ र फलफूल तथा मिठाईसहितको विशेष पञ्चामृत पूजाको शुल्क सात हजार ५०० रुपैयाँ तोकिएको छ। विशेष सहुलियत दर्शन तथा प्रसादीका लागि एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कोषले जनाएको छ।

विशेष पूजाको रसिद मूलढोकाअगाडि रहेको एसबीआई बैंकबाट उपलब्ध हुनेछ भने विशेष सहुलियत दर्शनका लागि भुवनेश्वरी चोक र तिलगंगास्थित काउन्टरबाट टिकट लिन सकिने व्यवस्था गरिएको छ।

साउने सोमबारका लागि पार्किङ, स्वास्थ्य सेवा, मोबाइल शौचालय, एम्बुलेन्स, प्राथमिक उपचार तथा चन्दन–प्रसाद वितरणको समेत विशेष व्यवस्था गरिएको कोषले जनाएको छ। तिलगंगा, पिङ्गलास्थान, सिफल चौर, उमाकुण्ड, गुह्येश्वरीलगायत स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ भने पञ्चदेवल, भुवनेश्वरी चोक, उमाकुण्ड र जयबागेश्वरी क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

कोषका अनुसार सेवा व्यवस्थापनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकका लागि हंशमण्डपमा खाना तथा खाजाको समेत व्यवस्था गरिएको छ।