यमलसँगको भाइरल तस्बिर सम्झिँदै मेस्सीले भने– विश्वकप फाइनलमा उनीसँग खेल्नु ‘पागलपन’ जस्तै


काठमाडौं।

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले स्पेनका युवा स्टार लामिन यमलसँग विश्वकप फाइनलमा प्रतिस्पर्धा गर्नु आफ्नो लागि अविश्वसनीय क्षण हुने बताएका छन्। बाल्यकालमा यमललाई काखमा राखेर खिचाएको तस्बिर अहिले विश्वभर भाइरल भइरहेका बेला मेस्सीले त्यसलाई सम्झिँदै यस्तो प्रतिक्रिया दिएका हुन्।

सन् २००७ मा बार्सिलोनामा आयोजित एक च्यारिटी फोटोसुटका क्रममा यमलका परिवारले सहभागिताको अवसर पाएका थिए। त्यतिबेला २० वर्षीय मेस्सीले पाँच महिनाका यमललाई काखमा लिएर फोटो खिचाएका थिए। अहिले झण्डै दुई दशकपछि दुवै खेलाडी विश्वकप फाइनलमा एकअर्काविरुद्ध उत्रने सम्भावनाले उक्त तस्बिर फेरि चर्चामा आएको छ।

न्यूयोर्कमा आयोजित पत्रकार सम्मेलनमा मेस्सीले उक्त तस्बिरबारे प्रतिक्रिया दिँदै भने, “त्यो तस्बिर अद्भुत छ। हामी दुवै अहिले विश्वकप खेलिरहेका छौं, यो साँच्चिकै पागलपन हो।”

मेस्सीले यमलको खुलेर प्रशंसा गर्दै उनी अहिले विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक भइसकेको बताए। उनले यमलको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै भने, “उनी महान खेलाडी हुन्। विश्वभर चिनिएका स्टार बनिसकेका छन्। उनी अझै १९ वर्षका मात्र छन् र उनको पूरा करियर अगाडि छ। म उनलाई शुभकामना दिन्छु, तर यस पटक उनी च्याम्पियन नबनून् भनेर हामी सक्दो प्रयास गर्नेछौं।”

यमलले १५ वर्षको उमेरमै एफसी बार्सिलोनाबाट सिनियर टोलीमा डेब्यु गरेका थिए। त्यसपछि उनले मेस्सीले लामो समय लगाएको प्रतिष्ठित नम्बर १० जर्सी सम्हालेका छन्। उनले स्पेनलाई युइएफए युरो २०२४ को उपाधि दिलाउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए।

विश्वकप फाइनलमा स्पेन विजयी भए यमलले युरोपेली च्याम्पियनसिप र विश्वकप दुवै जित्ने सबैभन्दा कान्छो खेलाडी बन्ने कीर्तिमान समेत बनाउन सक्नेछन्। -बीबीसीबाट