काठमाडौं।
विद्यार्थी तथा युवा खेलाडीको प्रतिभा पहिचान, प्रोत्साहन र क्षमता विकासका लागि आयोजना हुन लागेको ‘ब्लु बर्ड सुपर लिग–२०२६’ को तयारी तीव्र पारिएको छ।
प्रतियोगिताका लागि खेलाडी छनोट गर्न आज एभिएस स्कुलकाे सभाहल, ग्वार्काेमा औपचारिक रूपमा अक्सन आयोजना गरिएको छ।

करिब चार महिनासम्म सञ्चालन हुने यस लिगका खेलहरू प्रत्येक साताको शनिवार र आइतबार आयोजना गरिने आयोजकले जनाएका छन्। विद्यार्थीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको प्रतियोगितामा कलेजमा हाल अध्ययनरत विद्यार्थीका साथै उत्तीर्ण भइसकेका पूर्वविद्यार्थीले समेत सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ।

प्रतियोगितामा फुटसल, भलिबल, बास्केटबल र क्रिकेट गरी चार मुख्य खेल समेटिएकाे छन्। आज आयोजित अक्सनमा सहभागी खेलाडीहरूको खेल क्षमता, दक्षता र पूर्वप्रदर्शनका आधारमा विभिन्न टोलीमा छनोट गरिएको छ। एउटै मञ्चमा चार फरक खेल आयोजना हुन लागेकाले विद्यार्थी तथा खेलप्रेमीहरूमा उत्साह बढाएको छ। यस प्रतियोगिताले युवा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्ना खेल कौशल प्रस्तुत गर्ने अवसर दिलाउनुका साथै टिमवर्क, अनुशासन, नेतृत्व क्षमता र आपसी भाइचारा अभिवृद्धिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

ब्लु बर्ड कलेजका प्रधानाध्यापक बीएस क्षेत्रीले यो लिग प्रतियोगितामा मात्र सीमित नभई विद्यार्थीलाई जीवनका व्यावहारिक अनुभवसँग जोड्ने र व्यक्तित्व विकास गर्ने महत्त्वपूर्ण माध्यम भएको बताएका छन्। खेलकुदमार्फत अनुशासन र नेतृत्व क्षमताको विकास हुने भएकाले शैक्षिक विकाससँगै विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुदलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। त्यसैगरी कलेजका भाइस प्रिन्सिपल दिपकराज जोशीले शैक्षिक यात्रा र खेलकुदलाई समानान्तर रूपमा अघि बढाउँदा विद्यार्थीमा शारीरिक स्फूर्ति, अनुशासन र आत्मविश्वास अभिवृद्धि हुने बताए।

कार्यक्रममा बोल्दै सांसद जगदीश खरेलले खेलकुदलाई मनोरञ्जनको साधन मात्र नबनाई करियर निर्माणको मुख्य क्षेत्रका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे। युवाहरूले खेलकुदमार्फत आफ्नो भविष्य निर्माण गर्न सक्ने भएकाले राज्यले यस्ता प्रतिभाहरूलाई प्रोत्साहन गर्नुपर्ने र यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न मद्दत पुग्ने उनको भनाइ थियो।

आजको अक्सनबाट छनोट भएका खेलाडी तथा टोलीहरूले आगामी साताको शनिबारदेखि मैदानमा ओर्लिएर प्रतिस्पर्धा गर्ने लिगका संयाेजक जितेन्द्र महर्जनले जानकारी दिनुभयो ।











प्रतिक्रिया