राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि ऐतिहासिक आवासीय भवन उद्घाटन


काठमाडौं।

राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका लागि निर्माण गरिएको आधुनिक आवासीय भवन उद्घाटन गरेको छ। करिब नौ महिनामा सम्पन्न भएको यो परियोजना राउण्ड टेबल नेपालको इतिहासकै सबैभन्दा ठूलो सामाजिक सेवा परियोजनामध्ये एक भएको संस्थाले जनाएको छ।

करिब १ करोड ८३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवन एक रोपनी क्षेत्रफलमा फैलिएको छ। भवनमा ४८ भन्दा बढी दृष्टिविहीन बालबालिकालाई आवासको व्यवस्था गरिएको छ। यसमा छवटा आवासीय कोठा, भोजन कक्ष, पूर्ण सुविधायुक्त भान्सा, स्नानगृह तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरिएको छ।

संस्थाका अनुसार भवनले दृष्टिविहीन बालबालिकालाई सुरक्षित, सम्मानजनक र गुणस्तरीय बसोबासको वातावरण उपलब्ध गराउँदै उनीहरूको शिक्षा, सुरक्षा र समग्र विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यो परियोजना डोल्मा फाउण्डेशन, माज्जाली परिवार, विभिन्न व्यक्तिगत दाता, संस्थागत साझेदार तथा शुभेच्छुकहरूको सहयोगमा सम्पन्न भएको हो। संस्थाले उनीहरूको सहयोगले भवन मात्र नभई दृष्टिविहीन बालबालिकाका लागि सम्मानपूर्वक जीवनयापन र उज्ज्वल भविष्य निर्माण गर्ने आधार तयार भएको जनाएको छ।

परियोजनाको नेतृत्व काठमाडौं राउण्ड टेबल–१ का अध्यक्ष सञ्जीव अग्रवालले गर्नुभएको थियो। उहाँको नेतृत्व र समर्पणका कारण परियोजना सफलतापूर्वक सम्पन्न भएको संस्थाले उल्लेख गरेको छ।

उद्घाटन समारोहमा विश्वप्रसिद्ध नेत्र विशेषज्ञ तथा मानवतावादी डा. सन्दुक रुइत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा डोल्मा फाउण्डेशन, माज्जाली परिवार, राउण्ड टेबल नेपालका पदाधिकारी, दाताहरू, स्वयंसेवक, सहयोगी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा राउण्ड टेबल नेपालका प्रतिनिधिहरूले प्रत्येक बालबालिकाले आफ्नो शारीरिक अवस्था वा आर्थिक पृष्ठभूमि जस्तोसुकै भए पनि समान अवसर प्राप्त गर्नुपर्ने संस्थाको प्रतिबद्धता दोहोर्‍याए। उनीहरूले सामूहिक प्रयास, सहकार्य र सामाजिक उत्तरदायित्वबाट दीर्घकालीन सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गर्दै यस अभियानमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

संस्थाका अनुसार नवनिर्मित आवासीय भवन दृष्टिविहीन बालबालिकाका लागि सुरक्षित र सम्मानजनक आश्रयस्थलका रूपमा रहनेछ भने करुणा, सहकार्य र निःस्वार्थ सेवाको स्थायी प्रतीकसमेत बन्ने विश्वास लिइएको छ।