फेसबुकको वेब संस्करणमा प्राविधिक समस्या, एप भने सामान्य सञ्चालनमा


काठमाडौँ।

सामाजिक सञ्जाल फेसबुकको वेब संस्करणमा आइतबार दिउँसोदेखि प्राविधिक समस्या देखिएको छ। करिब दिउँसो १:३० बजेदेखि केही प्रयोगकर्ताले फेसबुक वेबसाइट खोल्दा “Account Temporarily Unavailable” भन्ने सन्देश देखिएको बताएका छन्।

वेब ब्राउजरमार्फत फेसबुक प्रयोग गर्दा समस्या देखिए पनि मोबाइल एपमा भने अधिकांश प्रयोगकर्ताले सामान्य रूपमा सेवा प्रयोग गर्न सकेका छन्।

फेसबुकले वेबसाइटमा अस्थायी प्राविधिक समस्या आएको जनाउँदै केही समयभित्र सेवा पुनः सामान्य हुने संकेत दिएको छ। यद्यपि, समस्याको कारण वा यसको विस्तृत विवरणबारे कम्पनीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

उता, वेबसाइटहरूको सेवा अवस्थाबारे जानकारी दिने प्लेटफर्म डाउनडिटेक्टरमा विभिन्न देशका प्रयोगकर्ताले फेसबुकको वेब सेवामा समान प्रकारको समस्या आएको भन्दै रिपोर्ट गरेका छन्। यसले समस्या कुनै एक क्षेत्रमा मात्र सीमित नभई विश्वव्यापी रूपमा केही प्रयोगकर्तामा देखिएको हुन सक्ने अनुमान गरिएको छ।