काठमाडौं ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।
कम्पनीका अनुसार बालबालिकालाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ हाल नेपालमा आधुनिक बहु–विशेषज्ञ बाल अस्पताल निर्माणको प्रक्रियामा रहेको छ। संस्थाले बाल हृदय रोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवाजस्ता विशेष स्वास्थ्य सेवामा केन्द्रित भएर काम गरिरहेको छ।
रिलायबल नेपाल लाइफले उक्त सहयोगबाट बाल स्वास्थ्य सेवाको पहुँच विस्तार, आवश्यक स्वास्थ्य पूर्वाधार विकास तथा भविष्यमा हजारौं बालबालिका र तिनका परिवारलाई लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।
कम्पनीले स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।











प्रतिक्रिया