मिटरब्याज र सरकारी कागजात किर्ते मुद्दामा व्यापारी रामबाबु शाह कलवार पुर्पक्षका लागि थुनामा

0
Shares

रौतहट।

जिल्ला अदालत गौरले चन्द्रनिगाहपुरका व्यापारी रामबाबु शाह कलवारलाई अनुचित लेनदेन (मिटरब्याज) तथा सरकारी कागजात किर्तेसम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरेको छ। जिल्ला न्यायाधीश दुर्गाप्रसाद भट्टराईको इजलासले उनलाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेश गरेको हो ।अदालतका अनुसार रामनाथ सहनीको जाहेरीका आधारमा दर्ता भएको मुद्दामा प्रारम्भिक प्रमाण तथा मिसिल अध्ययनपछि अनुसन्धान र मुद्दाको सुनुवाइका लागि कलवारलाई थुनामै राख्ने आदेश जारी गरिएको हो।

चन्द्रनिगाहपुर क्षेत्रमा ‘मिटरब्याजी व्यापारी’का रूपमा चिनिएका कलवारविरुद्ध यसअघि पनि विभिन्न अनलाइन सञ्चारमाध्यममा अनुचित लेनदेनसँग सम्बन्धित समाचार सार्वजनिक हुँदै आएका थिए। पछिल्लो अदालतको आदेशसँगै ती आरोपहरू औपचारिक कानुनी परीक्षणको चरणमा प्रवेश गरेका छन्।
अदालतको आदेशपछि कलवारलाई कारागार पठाइएको छ। अब उनीविरुद्धको मुद्दामा नियमित सुनुवाइ हुनेछ। अन्तिम फैसला नआउँदासम्म उनी दोषी वा निर्दोष भन्ने कानुनी निष्कर्षमा पुगिएको मानिँदैन।

रौतहटमा पछिल्ला महिनायता मिटरब्याज तथा अनुचित लेनदेनविरुद्ध पीडितहरू आन्दोलनमा उत्रिरहेका बेला अदालतको यो आदेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसले यस्ता प्रकृतिका मुद्दामा कानुनी कारबाहीप्रति चासो र अपेक्षा अझ बढाएको छ।