काठमाडौँ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले धुलिखेल अस्पताललाई केही महिनाभित्र प्रदेशस्तरीय स्वास्थ्य विश्वविद्यालयका रूपमा विकास गर्ने प्रक्रिया पूरा भएको घोषणा गर्नुभएको छ । उहाँले उक्त विश्वविद्यालय स्थापना भएपछि बागमती प्रदेशमा स्वास्थ्य शिक्षा, अनुसन्धान र विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारमा नयाँ युगको सुरुआत हुने बताउनुभयो । उहाँले काभ्रेको धुलिखेलमा काठमाडाँै विश्वविद्यालय भए पनि प्रदेशस्तरीय विश्वविद्यालयको ढाँचामा नयाँ विश्वविद्यालयका अवधारण बागमती प्रदेशले अघिसारेको बताउनुभयो ।




सोमवार धुलिखेलमा जिल्ला खोप समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आयोजित ‘पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा समारोह’ लाई सम्बोधन गर्दै मन्त्री मगरले स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले दीर्घकालीन सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘खोप एक दिनको अभियान होइन, यो पुस्तौँसम्म निरन्तर सञ्चालन गर्नुपर्ने राष्ट्रिय दायित्व हो । खोपका कारण नेपालमा बालमृत्युदर उल्लेखनीय रूपमा घटेको छ । दादुरा, रुबेला, पोलियोलगायतका रोग नियन्त्रणमा आएका छन् । अब यसको दिगोपनाका लागि स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायको निरन्तर सक्रियता आवश्यक छ ।’




मन्त्री मगरले बागमती प्रदेश सरकारले आधारभूत अस्पताल सुदृढीकरण, विद्यालय नर्स कार्यक्रम, स्वास्थ्य बीमा विस्तार, दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य शिविर, हेलिकोप्टरमार्फत आकस्मिक उद्धार सेवा, ‘एक पालिका–एक नमुना स्वास्थ्य संस्था’ तथा ‘एक जिल्ला–एक हेल्दी सिटी’ अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।




जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्य–सचिव राघीश्री कक्षपति श्रेष्ठले जिल्लाका सबै वडा हुँदै १३ वटै स्थानीय तहले पूर्णखोप सुनिश्चितताको मापदण्ड पूरा गरेपछि जिल्ला घोषणा गरिएको जानकारी दिनुभयो ।



कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले पूर्णखोप सुनिश्चितता घोषणा अन्तिम उपलब्धि नभई निरन्तर कायम राख्नुपर्ने अभियान भएको बताउनुभयो । ‘हरेक वर्ष नयाँ बालबालिका जन्मिन्छन्। त्यसैले पूर्णखोप सुनिश्चिततालाई निरन्तर कायम राख्नु नै हाम्रो मुख्य जिम्मेवारी हो’ –उहाँले भन्नुभयो ।
सोही अवसरमा रोटरी क्लब अफ धुलिखेल तथा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय रोटरी क्लबहरूको सहयोगमा जिल्लाका विभिन्न बर्थिङ सेन्टरलाई पोर्टेबल ब्ल्याक एन्ड ह्वाइट अल्ट्रासाउन्ड मेसिन १० थान हस्तान्तरण गरियो । रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष मोहनकुमार श्रेष्ठले दुर्गम क्षेत्रमा गर्भवती महिलालाई समयमै गुणस्तरीय मातृ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उपकरण उपलब्ध गराइएको बताउनुभयो ।











प्रतिक्रिया