ज्योतिष विज्ञान र आधुनिक विज्ञानले के भन्छ ?

376
Shares

काठमाडौँ ।

आधुनिक मौसम विज्ञान र पूर्वीय ज्योतिष विज्ञान दुवैले यस वर्षको वर्षा अनिश्चित रहने संकेत दिएका छन् । यस वर्ष २०८३ सालमा जलाढक सङ्ख्या ५० रहेको पञ्चाङ्गकारहरूले उल्लेख गरेका छन् । जबकि अघिल्लो वर्ष २०८२ सालमा यो सङ्ख्या १०० रहेको थियो ।
यसबाट बुझ्न सकिन्छ कि अघिल्लो वर्षको तुलनामा यस वर्ष आधा कम वर्षा हुनेछ । अर्को कुरा, यस वर्ष जम्मा जलाढक सङ्ख्या ५० रहेकामा त्यसको आधा २५ त जलीय क्षेत्र (समुद्र, ताल) मा नै हुनेछ भने बाँकी आधा मात्र जमिनमा हुनेछ । त्यस्तै यस वर्ष रौद्र नामको संवत्सर रहेकाले वर्षा कम हुने र कीरा–पक्षीवर्ग विकृत रहन सक्ने बताइएको छ (अल्पतोयास्तथा मेघाः कीटाश्च शलभाः शुकाः) । यसले गर्दा यस वर्ष खडेरीको सम्भावना देखिन्छ ।

यता एल निनोका कारण तापक्रम वृद्धि, खडेरी र कृषि उत्पादनमा कमी आउन सक्ने चेतावनी आधुनिक मौसमविद्हरूले दिइसकेका छन् । एल निनो भनेको प्रशान्त महासागरको उष्णकटिबन्धीय क्षेत्र (ट्रपिकल जोन) मा समुद्री सतहको तापक्रम असामान्य रूपमा बढ्ने जलवायु घटना हो । सन् २०२६ को जुन महिनाबाट एल निनो सुरु भइसकेको छ ।

यो वर्षको मध्य अर्थात् असोजतिर एल निनो ‘सुपर एल निनो’ मा परिणत हुने सम्भावना ६३ प्रतिशत रहेको पूर्वानुमान गरिएको छ । यसले विश्वव्यापी मौसमको ढाँचामा ठूलो प्रभाव पार्नेछ । यसका कारण कतै अनावृष्टि अर्थात् पर्याप्त वर्षा नहुँदा खडेरी पर्ने र कतै अति वृष्टि हुने सम्भावना छ ।

इतिहास नियाल्दा सन् १८७७–७८ मा एल निनोको बढी प्रभाव परेको थियो । त्यस बेलाको एल निनो मानव इतिहासकै सबैभन्दा विनाशकारी जलवायु घटनाहरूमध्ये एक मानिएको छ । यसका कारण भारतको बंगाल क्षेत्र र दक्षिण चीनमा ठूलो अनिकाल परेको थियो । एक करोडभन्दा बढी मानिसको मृत्यु भएको आँकलन गरिएको थियो ।

त्यस बेलाको ग्रहहरूको विशेष अवस्थिति वर्षाका लागि अत्यन्त प्रतिकूल थियो । सूर्यको अगाडि जलीय ग्रह नभई शनि, मङ्गल, राहुजस्ता क्रुर ग्रहको प्रभाव प्रबल भएको मानिन्छ । अहिले पनि एल निनोको सुरुवात र ग्रहको अवस्थाले मनसुनी प्रभावबाट हुन सक्ने हानिप्रति सचेत हुनुपर्ने देखिन्छ ।

ज्योतिषीय गणनाअनुसार, २२ जुन २०२६ मा सूर्य आद्र्रा नक्षत्रमा प्रवेश गर्दा बनेको विशेष कुण्डलीले यस वर्षको मनसुन सामान्य रहे पनि वर्षाको वितरण असमान हुने भविष्यवाणी गरिएको छ । चन्द्रमाको जल तत्वको उपस्थिति वर्षाका लागि अनुकूल छ भने शनि ग्रहको वायु तत्वको दृष्टिले बादलको चालमा अवरोध उत्पन्न गर्न सक्छ । त्यसैले मनसुनमा अनिश्चितता नआउला भन्न सकिन्न ।

वर्षको सबैभन्दा बढी गर्मी हुने नौ दिन (नव–तप) को अवधिमा यदि अत्यधिक गर्मी नभएर बादल–वर्षा भएमा सो वर्ष मनसुन कमजोर हुने ज्योतिषीय मान्यता छ । नव–तप भनेको वर्षको सबैभन्दा बढी गर्मी हुने लगातार नौ दिनको अवधि हो । यस अवधिलाई नवतपा पनि भनिन्छ । परम्परागत ज्योतिषमा यो समय सामान्यतया सूर्य रोहिणी नक्षत्रमा प्रवेश गरेपछि सुरु भएको मानिन्छ ।

वर्षाको प्रकृति, कृषि उत्पादन एवं जनजीवनसम्बन्धी वार्षिक फलादेश गर्दा यो नव–तपको अवस्थालाई महत्वपूर्ण सूचकका रूपमा हेरिन्छ । यता आधुनिक मौसम विज्ञानले वर्षाको पूर्वानुमानका लागि विशेष गरी वायुमण्डलीय चाप, समुद्री तापक्रम, मनसुन प्रणाली आदि वैज्ञानिक आधारलाई लिने गरेको छ ।

यस वर्ष सामान्यतया गत जेठ ११ गतेदेखि १९ गते ९ दिनसम्म नव–तप रह्यो । यस अवधिलाई मनसुनको ‘गर्भाधान काल’ को रूपमा मानिन्छ । ज्योतिषीय मान्यताअनुसार मनसुनको यी गर्भाधान कालका नौ दिन जति तातो (गर्मी) भयो, मनसुन उति बलियो हुन्छ । अर्थात् गर्भाधान कालमा राम्रैसँग गर्मी भयो भने वर्षायाममा पर्याप्त वर्षा हुन्छ ।

यो नौ दिनको अवधिमा सूर्य पृथ्वीको उत्तरी गोलार्धतर्फ प्रभावकारी हुने र ग्रीष्म ऋतु उत्कर्ष अवस्थामा पुग्ने भएकाले पनि तापक्रम उच्च रहने हुन्छ । परम्परागत ज्योतिषीय मान्यताले यही प्राकृतिक अवस्थालाई वर्षाको पूर्वानुमानसँग जोडेर व्याख्या गर्ने गरेको पाइन्छ ।

यदि यस अवधिमा बादल, पानी वा असामान्य मौसम भयो भने वर्षा कम हुने संकेत मानिन्छ । यस वर्ष नेपालमा यो अवधिमा कतै–कतै मेघ गर्जनसहित बादल, वर्षा, देखिएकाले पछि खडेरी पर्ने सम्भावना त छ नै । तर पनि गर्मीसमेत भएकाले साह्रै आत्तिनुपर्ने अवस्थाचाहिँ देखिँदैन । हुन त प्रि–मनसुनको समयमा नेपालमा यस वर्ष विगत ४५ वर्षयताकै बढी वर्षा भएको रेकर्ड छ । यसरी प्री–मनसुनमा धेरै वर्षा भयो भने मनसुनमा कम वर्षा हुने मौसमविद्को भनाइ छ । यसले पनि यो वर्ष खडेरी पर्ने सम्भावना देखाउँछ ।

आधुनिक विज्ञान र पूर्वीय ज्योतिष दुवैले यस वर्ष अनियमित वर्षाको संकेत देखाएका छन् । उता सुपर एल निनोका कारण तापक्रम वृद्धि, खडेरी र कृषि उत्पादनमा कमी आउन सक्ने चेतावनी यसका विश्लेषकहरूले दिइसकेका छन् । यस वर्षको एल निनोलाई जलवायु परिवर्तनले झन् भयानक बनाउन सक्ने भन्दै विशेष सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ ।