असुरक्षित कामपा प्रहरी बल , सडकमा निस्कन कठिन
काठमाडौँ ।
गत असार २५ गते बिहीवार राहदानी विभागको पश्चिमतर्फ सडकपेटीमा मोटरसाइकल पार्किङ गरेको विषयमा कामपा प्रहरीसँग विवादपछि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारको क्रममा निधन भएपछि अहिले नगर प्रहरीले असुरक्षा महसुस गरिरहेको छ ।
नेपालीको निधनको विरोधमा राजधानीमा प्रदर्शन भएको थियो । त्यसपछि दुई पक्षबीच ९ बुँदे सम्झौता पनि भएर सोमवार नेपालीको शवको अन्तिम संस्कार पनि सम्पन्न भइसकेको छ ।
तर, विभिन्न निकायले नगर प्रहरीलाई चेतावनी दिइरहेका कारण नगर प्रहरी तत्काल बाहिर निस्कन सक्ने अवस्था नरहेको भन्दै काठमाडौँ महानगरपालिकाले महानगर प्रहरी बलको शान्ति सुरक्षा माग गर्दै जिल्ला प्रशासन (सिडियो) कार्यालय काठमाडौँ र सडकपेटी अतिक्रमण नियन्त्रण र ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्दै काठमाडौँ जिल्ला प्रशासन (सिडियो) कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्र पठाएको छ ।
मृतक नेपालीका परिवार र आन्दोलनकारीले ह्विील लक गर्ने नगर प्रहरीको निलम्बन गर्न माग गर्दै सुरक्षा निकायमा ज्ञापनपत्र बुझाएका छन् । यद्यपि कामपा प्रहरीले नियमअनुसार जरिवाना लिन पाउने व्यवस्था छ ।
जे पनि हुनसक्ने भन्दै विभिन्न व्यक्तिले धम्की दिन थालेपछि नगर प्रहरी ट्राफिक व्यवस्थापन र सडकपेटी अतिक्रमण नियन्त्रण गर्न बाहिर निस्कने अवस्था नरहेको जानकारी दिँदै महानगरीय प्रहरी बल काठमाडौँका प्रमुख विष्णुप्रसाद जोशीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले २५ प्रकारका काम पर्नुपर्छ । अहिलेको अवस्थामा सडकपेटी अतिक्रमण र ट्राफिक व्यवस्थापन गर्न कामपा प्रहरी परिचालन गर्नसक्ने अवस्था छैन । केही दिनपछि नियमित सबै प्रकारका सेवा सुचारु गर्नेछौँ ।’
महानगर प्रहरी बाहिर ननिस्कँदा विशेषगरी काठमाडाँैको भित्री सहर, असन, न्युरोड, वसन्तपुरलगायत क्षेत्रको फुटपाथ र ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । पार्किङ अस्तव्यस्त भएपछि कामपा प्रहरी बलले सुरक्षा माग गर्दै सिडियो कार्यालयमा पठाएको पत्रमा भनिएको छ– ‘नेपालीको निधन भई सो कारणले उत्पन्न परिस्थितिलाई मध्यनगर गर्दै सहरी सुव्यवस्थापन कार्यहरूमा खटिने महानगर प्रहरी बलका सुरक्षाकर्मीको शान्ति सुरक्षा प्रत्यभूतिको लागि आवश्यक व्यवस्था मिलाइदिनुहुन निर्देशानुसार अनुरोध छ ।’ कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्इंद्वारा हस्ताक्षरित पत्र सिडियो कार्यालयमा पुगिसकेको छ ।
दुई प्रकारको पत्र दुई संस्थामा पुगेपछि आजबाट सुरक्षाको विषयमा छलफल हुने तयारी भइरहेको छ । उता कामपा प्रहरीमाथि हुनसक्ने घटनालाई मध्यनजर गर्दै कामपा प्रहरीले हिजो आकस्मिक बैठक बोलाएको थियो । प्रहरी बल प्रमुख जोशीको अध्यक्षतामा बसेको बैठकले शान्ति सुरक्षाको पूर्ण व्यवस्था नहुन्जेलसम्म सडक पेटी अतिक्रमण, ट्राफिक व्यवस्थापनमा प्रहरी नखटाइने भएको छ । तर विपद् व्यवस्थापन, सहरी सौन्दर्यीकरणलगायत कामका लागि भने नगर प्रहरी परिचालन हुने कामपा प्रहरी बल प्रमुख जोशीले बताउनुभयो ।
बैठकमा पूर्वक्षेत्रका प्रमुख डिएसपी शिवलाल पौडेल, पश्चिमका डिएसपी किशोर भट्टराई, मध्यका पूर्णचन्द्र भट्ट र उत्तरक्षेत्रका प्रकाश पण्डित, वातावरण व्यवस्थापन विभागका मीनबहादुर थापा नगरप्रहरी उपरीक्षक मनोज लामिछानेलगायत विषयगत प्रमुखको उपस्थिति थियो । ब्रिफिङका क्रममा प्रहरी प्रमुख जोशीले सामान्य अवस्था नभइन्जेलसम्म दुई विषयमा प्रहरी परिचालन नहुने बताउनुभएको थियो ।
काठमाडौँ महानगरपालिका र आत्मदाहपछि मृत्यु भएका गणेश नेपाली पक्षसँग भएको ९ बुँदे सम्झौता कार्यान्वयनको विषयमा सोमवार बिहान छलफल भएको थियो । कामपाका कार्यबाहक मेयर सुनिता डंगोलसहितको उपस्थितिमा भएको छलफलमा मृतक नेपालीको दाहसंस्कारका लागि आवश्यक पर्ने खर्चलगायत सम्झौताका सबै विषय उठेका थिए । ती सबै विषय कार्यान्वयन गर्न कामपा प्रतिबद्ध रहेको जनाइएको छ ।











प्रतिक्रिया