–बजारमा मनपरी, सरकार निरीह
काठमाडौँ ।
देशभर फैलिएको बर्डफ्लुको संक्रमणले नेपालको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ । एकातिर लाखौँ कुखुरा नष्ट हुँदा किसान र उद्योगीहरू बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन् भने अर्कोतर्फ बजारमा खसी, राँगा र माछाको मासुको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै उपभोक्ताहरू आक्रोशित बनेका छन् । बजार अनुगमन प्रभावकारी हुन नसक्दा व्यवसायीहरूले मनपरी मूल्य लिएको आरोप उपभोक्ताको छ ।
पछिल्लो एक महिनामा काठमाडौँ उपत्यकासहित विभिन्न सहरमा खसीको मासु प्रतिकिलो १ हजार ३ सय देखि १ हजार ४ सयबाट बढेर १ हजार ८ सय देखि १ हजार ९ सयसम्म पुगेको उपभोक्ताहरू बताउँछन् । राँगाको मासु ५ सयदेखि ६ सयबाट बढेर ७ सय देखि ८ सय ५० सम्म पुगेको छ भने माछाको मूल्य पनि ४ सय देखि ५ सयबाट बढेर ६ सयदेखि ७ सयसम्म प्रतिकिलो पुगेको छ ।
कुखुराको मासु खरिदमा उपभोक्ताको रुचि घटेपछि अन्य मासुको माग बढेकाले मूल्य चुलिएको व्यवसायीहरूको तर्क छ । तर उपभोक्ता भने यसलाई अवसर छोपेर गरिएको कृत्रिम मूल्यवृद्धि भएको आरोप लगाउँछन् ।
पशु सेवा विभागका अनुसार हालसम्म बर्डफ्लु ११ जिल्लाका १ सयभन्दा बढी स्थानमा फैलिएको छ । संक्रमण नियन्त्रणका क्रममा करिब ७ लाख कुखुरा, ११ लाख अण्डा र करिब ३ लाख किलोग्राम दाना नष्ट गरिएको छ । प्रभावित क्षेत्रमा द्रुत प्रतिकार टोली परिचालन गरिएको विभागले दाबी गरेको छ ।
विभागका महानिर्देशक डा. उमेश दाहालले फार्ममा जैविक सुरक्षा (बायो–सिक्युरिटी) कडाइका साथ पालना गर्न, मरेका वा बिरामी कुखुरासँग प्रत्यक्ष सम्पर्क नगर्न तथा संक्रमण देखिए तत्काल पशु सेवा कार्यालयलाई जानकारी दिन आग्रह गर्नुभएको छ ।
नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष राजेन्द्र लामिछानेले यसअघि सार्वजनिक रूपमा बर्डफ्लुका कारण उद्योग गम्भीर संकटमा परेको, उत्पादन घटेको र धेरै किसान बैंक ऋणको किस्ता तिर्न नसक्ने अवस्थामा पुगेको बताउँदै सरकारले राहत, सहुलियत कर्जा र क्षतिपूर्ति प्रक्रिया छिटो अघि बढाउनुपर्ने माग गर्दै आउनुभएको छ । उद्योगीहरूका अनुसार उत्पादनमा आएको गिरावटले हजारौँ श्रमिकको रोजगारीसमेत जोखिममा परेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले संक्रमित कुखुरा, अण्डा तथा दाना नष्ट गर्ने कार्य जारी रहेको र संक्रमण फैलिन नदिन निगरानी बढाइएको जनाएको छ । संक्रमित कुखुराको बिक्रीवितरण गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने चेतावनी विभागले दिएको छ ।
तर बजारमा देखिएको अर्को समस्या भने अन्य मासुको मूल्यवृद्धि हो । कुखुराको माग घट्दा खसी, राँगा र माछाको माग बढेको भन्दै व्यापारीहरूले मूल्य बढाएका छन् । उपभोक्ताका अनुसार कुनै स्पष्ट सरकारी मूल्यसूची नहुँदा पसलपिच्छे फरक–फरक मूल्य लिने प्रवृत्ति बढेको छ ।
उपभोक्ता अधिकारकर्मीले बजार अनुगमन प्रभावकारी नभएकाले व्यवसायीले अवसरको दुरुपयोग गरेको बताएका छन् । उनीहरूका अनुसार कुनै पनि विपद् वा रोगको बहानामा आवश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउनु उपभोक्ता हितविपरीत हो । उनीहरूले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र स्थानीय तहलाई नियमित अनुगमन गर्न आग्रह गरेका छन् ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बर्डफ्लुको बहानामा अन्य मासुको मूल्य अस्वाभाविक रूपमा बढाइनु उपभोक्तामाथिको अन्याय भएको बताउनुभयो । उहाँले बजारमा माग बढ्नु स्वाभाविक भए पनि त्यसलाई आधार बनाएर मनपरी मूल्य असुल्न नपाइने स्पष्ट पार्नुभयो । तिमिल्सिनाले भन्नुभयो– ‘कुखुरामा बर्डफ्लु देखियो भन्दैमा खसी, राँगा र माछाको मूल्य एक्कासि बढ्नु स्वाभाविक होइन । यदि लागत र आपूर्तिमा त्यति ठूलो परिवर्तन भएको छैन भने यस्तो मूल्यवृद्धि कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्तिको संकेत हुन सक्छ । सरकारको बजार अनुगमन प्रभावकारी नहुँदा उपभोक्ताले अनावश्यक आर्थिक भार बोक्नुपरेको छ ।’
उहाँले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक बजार अनुगमन गरी कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीमाथि उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्नुपर्ने बताउनुभयो । ‘सरकारले मूल्यसूची सार्वजनिक गर्ने, लागत विश्लेषण गर्ने र दोषी व्यवसायीलाई कारबाही गर्ने हो भने बजार धेरै हदसम्म नियन्त्रणमा आउँछ’ –उहाँले बताउनुभयो ।
बजारका मासु व्यवसायी भने आफूहरू पनि महँगो दरमा खरिद गर्न बाध्य भएकाले खुद्रा मूल्य बढेको दाबी गर्छन् । उनीहरूका अनुसार कुखुराको विकल्प खोज्ने उपभोक्ताको सङ्ख्या बढेपछि माग–आपूर्तिको असन्तुलनले मूल्य चुलिएको हो ।
यसबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि सर्वसाधारणलाई त्रसित नहुन आग्रह गर्दै राम्रोसँग पकाएको कुखुराको मासु र अण्डा सेवन गर्दा सामान्यतया संक्रमणको जोखिम न्यून हुने जनाएको छ । मन्त्रालयले बिरामी वा मरेका कुखुरासँग प्रत्यक्ष सम्पर्क नगर्न र शङ्का लागे सम्बन्धित निकायलाई जानकारी दिन आग्रह गरेको छ ।
विज्ञहरूका अनुसार अहिलेको संकटले नेपालको कुखुरा उद्योगमा रहेको संरचनागत कमजोरी पनि उजागर गरेको छ । पर्याप्त जैविक सुरक्षा, बीमा, आपत्कालीन राहत कोष र रोग नियन्त्रण प्रणाली मजबुत नहुँदा संक्रमण फैलिनेबित्तिकै उद्योग ठूलो आर्थिक संकटमा फस्ने गरेको उनीहरूको विश्लेषण छ ।
अर्कोतर्फ, उपभोक्ताले भने दोहोरो मार खेपिरहेका छन् । कुखुरा किन्न डर, अन्य मासु किन्न महँगो, यस्तो अवस्थामा बजार अनुगमनलाई प्रभावकारी बनाउने, कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने र प्रभावित किसानलाई समयमै राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने दायित्व सरकारमाथि छ ।
बर्डफ्लु नियन्त्रणसँगै बजारलाई पनि नियन्त्रणमा राख्न नसकिए यसको असर कुखुरा उद्योगमा मात्र सीमित रहने छैन; खाद्य सुरक्षा, उपभोक्ता अधिकार र महँगीसमेत थप जटिल बन्ने जोखिम देखिएको छ । अहिलेको चुनौती रोग नियन्त्रण मात्र होइन, बजारमा विश्वास कायम राख्ने र संकटको अवसरमा हुने अस्वाभाविक मूल्यवृद्धि रोक्ने पनि हो ।











प्रतिक्रिया