धुलिखेल अस्पताल प्रदेशस्तरीय स्वास्थ्य विश्वविद्यालय बन्दैछ- स्वास्थ्यमन्त्री थापा मगर
काठमाडौं।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले धुलिखेल अस्पताललाई केही महिनाभित्र प्रदेशस्तरीय स्वास्थ्य विश्वविद्यालयका रूपमा विकास गर्ने प्रक्रिया पूरा भएको घोषणा गर्नुभएको छ । उहाँले उक्त विश्वविद्यालय स्थापना भएपछि बागमती प्रदेशमा स्वास्थ्य शिक्षा, अनुसन्धान र विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारमा नयाँ युगको सुरुआत हुने बताउनुभयो । उहाँले काभ्रेको धुलिखेलमा काठमाडौ विश्व विद्यालय भएपनि प्रदेश स्तरीय विश्व विद्यालयको ढाचामा नयाँ विश्व विद्यालयका अवधारण बागमती प्रदेशले अघिसारेको बताउनुभयो ।
सोमबार धुलिखेलस्थित प्रेम ब्याङ्क्वेटमा जिल्ला खोप समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आयोजित ’पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा समारोह’ लाई सम्बोधन गर्दै मन्त्री मगरले स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले दीर्घकालीन सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “खोप एक दिनको अभियान होइन, यो पुस्तौँसम्म निरन्तर सञ्चालन गर्नुपर्ने राष्ट्रिय दायित्व हो । खोपका कारण नेपालमा बालमृत्युदर उल्लेखनीय रूपमा घटेको छ । दादुरा, रुबेला, पोलियोलगायतका रोग नियन्त्रणमा आएका छन् । अब यसको दिगोपनाका लागि स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायको निरन्तर सक्रियता आवश्यक छ ।“

मन्त्री मगरले बागमती प्रदेश सरकारले आधारभूत अस्पताल सुदृढीकरण, विद्यालय नर्स कार्यक्रम, स्वास्थ्य बीमा विस्तार, दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य शिविर, हेलिकोप्टरमार्फत आकस्मिक उद्धार सेवा, ’एक पालिका–एक नमुना स्वास्थ्य संस्था’ तथा ’एक जिल्ला–एक हेल्दी सिटी’ अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । साथै “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी–एक घण्टा मेरो लागि“ अभियानमार्फत योग, ध्यान र प्राणायामलाई संस्थागत गर्दै स्वस्थ जीवनशैली प्रवद्र्धन गरिरहेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा मन्त्री मगरले काभ्रेपलाञ्चोकलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्य–सचिव राघीश्री कक्षपति श्रेष्ठले जिल्लाका सबै वडा हुँदै १३ वटै स्थानीय तहले पूर्णखोप सुनिश्चितताको मापदण्ड पूरा गरेपछि जिल्ला घोषणा गरिएको जानकारी दिनुभयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, विकास साझेदार संस्था तथा समुदायको सक्रिय सहभागिताका कारण यो सफलता सम्भव भएको बताउनुभयो ।
“घोषणा होइन, दिगोपनाको जिम्मेवारी“
कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले पूर्णखोप सुनिश्चितता घोषणा अन्तिम उपलब्धि नभई निरन्तर कायम राख्नुपर्ने अभियान भएको बताउनुभयो । “हरेक वर्ष नयाँ बालबालिका जन्मिन्छन्। त्यसैले पूर्णखोप सुनिश्चिततालाई निरन्तर कायम राख्नु नै हाम्रो मुख्य जिम्मेवारी हो,“ उहाँले भन्नुभयो । उहाँले सीमित स्रोत–साधनका बाबजुद सबै सरोकारवालाको सहकार्यबाट कार्यक्रम सफल भएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि यसलाई उत्सवकै रूपमा मनाइने जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले खोपसम्बन्धी भ्रम अझै समाजमा विद्यमान रहेकाले सञ्चारमाध्यमले तथ्यमा आधारित जनचेतनामूलक सामग्री प्रकाशन गरी जनस्वास्थ्य प्रवद्र्धनमा सक्रिय भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । शहरमै खोप सम्बन्धी भ्रम चिर्न परेको कठीनाईको उदाहरण प्रस्तुत गर्नुभयो । स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले संविधानले प्रत्याभूत गरेको स्वास्थ्यको मौलिक हक कार्यान्वयनमा नियमित खोप कार्यक्रम प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै महिला स्वास्थ्य स्वयंसेविकाको सेवा–सुविधा वृद्धि, दुर्गम क्षेत्रमा थप खोप केन्द्र स्थापना तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न प्रदेश सरकारसँग माग गर्नुभयो ।
रोटरी क्लब अफ धुलिखेलबाट बर्थिङ सेन्टरलाई १० वटा अल्ट्रासाउन्ड मेसिन प्रदान
सोही अवसरमा रोटरी क्लब अफ धुलिखेल तथा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय रोटरी क्लबहरूको सहयोगमा जिल्लाका विभिन्न बर्थिङ सेन्टरलाई पोर्टेबल ब्ल्याक एन्ड ह्वाइट अल्ट्रासाउन्ड मेसिन १० थान हस्तान्तरण गरियो । रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष मोहनकुमार श्रेष्ठले दुर्गम क्षेत्रमा गर्भवती महिलालाई समयमै गुणस्तरीय मातृ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उपकरण उपलब्ध गराइएको बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, वडा तथा स्थानीय तहलाई सम्मान गरिएको थियो । साथै, नेपालमै पहिलोपटक पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गर्ने उपलब्धिका लागि मण्डनदेउपुर नगरपालिकालाई विशेष प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख–उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी निकाय, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रारम्भमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै पूर्णखोप सुनिश्चितता सबै सरोकारवालाको साझा प्रयासको परिणाम भएको बताउनुभएको थियो । उहाँले यस अभियानलाई दिगो बनाउन सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । सोही अवसरमा मण्डन देउपुर नगरपालिकाका नगर प्रमुख तोपबहादुर वाईवाले स्वास्थ्य स्वयम सेवीकाहरुलाई ६० बर्ष पुगेपछि बिदाई हुँदा खाली हात हैन १ लाख सम्म दिनुपर्छ । त्यसको कोसका लागि आफूले पनि ५० हजार जम्मा गर्ने र प्रदेश सरकारकाले पनि गरोस भन्नुभयो । उहाँको भनाईलाई मन्त्री थापाले प्रक्रियामा गैसकेको बताउनुभयो । कार्यक्रम संचालन पार्थमणी न्यौपानेले गर्नुभएको थियो ।











प्रतिक्रिया