काठमाडौं।
नेपाली कांग्रेसले विभिन्न सञ्चारमाध्यमका कार्यालय तथा पार्टी सभापति गगनकुमार थापाको निवास अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार विज्ञप्ति जारी गर्दै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले उक्त घटनालाई लोकतान्त्रिक अभ्यास, स्वतन्त्र अभिव्यक्ति र नागरिक स्वतन्त्रतामाथिको गम्भीर चुनौतीका रूपमा लिइएको बताएका छन्।
विज्ञप्तिमा सभापति गगनकुमार थापाको निजी निवास, सञ्चारगृहको प्रवेशद्वार तथा व्यवसायीहरूको नियमित आवतजावत हुने क्षेत्रमा अपरिचित व्यक्तिहरूले सवारीसाधन तेर्स्याएर आवागमन अवरुद्ध गर्ने र त्रास सिर्जना गर्ने प्रयास भएको उल्लेख गरिएको छ।
कांग्रेसले यस्तो गतिविधि स्वतन्त्र अभिव्यक्ति तथा लोकतान्त्रिक वातावरणलाई कमजोर पार्ने नियोजित प्रयास भएको दाबी गर्दै यसको घोर निन्दा र भर्त्सना गरेको छ।
पार्टीले घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिको पहिचान गरेर कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, यस्ता गतिविधिले लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारमाथि प्रत्यक्ष प्रहार गर्ने ठहर पनि कांग्रेसले गरेको छ।
विज्ञप्तिमार्फत कांग्रेसले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि सञ्चारमाध्यम, नागरिक समाज, लोकतन्त्रवादी शक्ति तथा आम नागरिकलाई यस्ता अलोकतान्त्रिक गतिविधिविरुद्ध एकजुट हुन आह्वान गरेको छ।











प्रतिक्रिया