काठमाडौं।
नेपालको बाह्य क्षेत्र चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा उल्लेखनीय रूपमा सुदृढ बनेको छ । उच्च रेमिट्यान्स आप्रवाह, चालु खातामा ठूलो बचत तथा शोधनान्तर स्थितिमा सुधारका कारण विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च तहमा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपियाँ पुगेको छ । यो रकम गत वर्षको असार मसान्तमा रहेको २६ खर्ब ७७ अर्ब ६८ करोड रुपियाँको तुलनामा ४०.३ प्रतिशतले बढी हो ।
अमेरिकी डलरमा पनि विदेशी मुद्रा सञ्चिति उल्लेख्य बढेको छ । गत असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति जेठ मसान्तसम्म २६.५ प्रतिशतले वृद्धि भई २४ अर्ब ६८ करोड डलर पुगेको छ ।
विदेशी मुद्रा सञ्चितिमा आएको वृद्धिसँगै मुलुकको आयात धान्ने क्षमता पनि थप मजबुत बनेको छ । राष्ट्र बैंकका अनुसार हालको सञ्चितिले २२.५ महिनाको वस्तु आयात तथा १९.१ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ ।
त्यस्तै, विदेशी मुद्रा सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात ६१.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको असार मसान्तमा यस्तो अनुपात ४३.८ प्रतिशत मात्रै थियो ।
त्यस्तै विदेशी मुद्रा सञ्चिति बढ्नुको प्रमुख आधार रेमिट्यान्स आप्रवाह रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब ८० करोड रुपियाँ विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८.२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा रेमिट्यान्स वृद्धि १५.६ प्रतिशत रहेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९.६ प्रतिशतले बढेर १४ अर्ब ५९ करोड डलर पुगेको छ। जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपियाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको जेठमा यो रकम १ खर्ब ७६ अर्ब ३२ करोड रुपियाँ थियो। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता ८ खर्ब २ अर्ब ६ करोड रुपियाँ बचतमा रहेको छ । त्यस्तै, शोधनान्तर स्थिति पनि ९ खर्ब २६ अर्ब ६ करोड रुपियाँ बचतमा पुगेको छ । यी सूचकहरूले नेपालको बाह्य क्षेत्र अहिले निकै सुदृढ अवस्थामा रहेको संकेत गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांकले नेपालको बाह्य क्षेत्र मजबुत बन्दै गएको स्पष्ट देखाए पनि आन्तरिक अर्थतन्त्रमा लगानी, उत्पादन र रोजगारी विस्तार अपेक्षाअनुसार हुन सकेको छैन । पर्याप्त विदेशी मुद्रा सञ्चिति, उच्च रेमिट्यान्स र बाह्य बचतका बाबजुद निजी क्षेत्रमा कर्जा माग कमजोर रहनु तथा उत्पादनमुखी लगानी विस्तार हुन नसक्नु अहिले अर्थतन्त्रको प्रमुख चुनौतीका रूपमा देखिएको छ ।











प्रतिक्रिया