काठमाडौं।
सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोगमा दार्चुलाका नौ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा मोतियाविन्दु पहिचान भएका बिरामीमध्ये नौ जनाको डडेलधुरास्थित गेटा आँखा अस्पतालमा शल्यक्रिया गरिएको जनाएको छ।
बैंकका अनुसार गत वैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला तथा दुहुँ गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा परीक्षण गरिएका बिरामीमध्ये ११ जनालाई मोतियाविन्दुको शल्यक्रिया आवश्यक रहेको देखिएको थियो। ती सबैलाई उपचारका लागि अस्पताल पुर्याइए पनि स्वास्थ्य अवस्थाका कारण दुई जनाको शल्यक्रिया गर्न सम्भव नभएको बैंकले जनाएको छ।
शिविरमार्फत सात सयभन्दा बढी व्यक्तिको निःशुल्क आँखा परीक्षण गरिएको थियो। यसक्रममा ४८७ जनालाई चस्मा तथा ६०० जनालाई आवश्यक औषधि वितरण गरिएको बैंकले जनाएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा समुदायमुखी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। हाल बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ।











प्रतिक्रिया