काठमाडौं।
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ।
बैंकले सोमबार जारी गरेको विज्ञप्तिअनुसार आयकर ऐन, २०५८ बमोजिम खाताबाट कट्टी गरिएको करको विवरण आन्तरिक राजस्व विभागको स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा समावेश गर्न प्यान अद्यावधिक अनिवार्य रहेको जनाएको छ।
ग्राहकले बैंकको आधिकारिक अनलाइन पोर्टल वा मोबाइल बैंकिङ एपमार्फत ‘प्यान अपडेट’ विकल्प प्रयोग गरेर आफ्नो प्यान विवरण अद्यावधिक गर्न सक्नेछन्। साथै, बैंकका जुनसुकै शाखा कार्यालयमा पुगेर पनि प्यान अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार निक्षेपको ब्याजमा कट्टी गरिएको करको विवरण आन्तरिक राजस्व विभागको प्रणालीमा प्रविष्ट गर्न प्यान आवश्यक पर्छ। प्यान अद्यावधिक भएपछि कर कट्टीको विवरण स्वतः सम्बन्धित प्रणालीमा समावेश हुने भएकाले करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न ग्राहकलाई सहज हुने विश्वास बैंकले लिएको छ।
बैंकले प्यान अद्यावधिक नगराएका कारण करकट्टीको विवरण आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश नभएमा त्यसबाट उत्पन्न हुने समस्या तथा पछि गर्नुपर्ने कर समायोजनको जिम्मेवारी बैंकको नहुने पनि स्पष्ट पारेको छ।
यसैगरी, बैंकले ग्राहकलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ। ग्राहकले भिडियो केवाईसी, बैंकको अनलाइन पोर्टल, मोबाइल बैंकिङ एप वा बैंकका जुनसुकै शाखामार्फत ईमेल ठेगाना अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।
यसअघि प्यान उपलब्ध गराइसकेका ग्राहकको करकट्टी विवरण अद्यावधिक नभएको वा ईमेल ठेगाना अभिलेखमा समावेश नभएको अवस्थामा नजिकको शाखा कार्यालय वा बैंकको ग्राहक सम्पर्क केन्द्रमार्फत आवश्यक सहयोग लिन पनि बैंकले आग्रह गरेको छ।











प्रतिक्रिया