काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषीको पहिचान गर्न सरकार र सुरक्षा निकायसँग माग गरेको छ।
सोमबार जारी विज्ञप्तिमा रास्वपाले आमसञ्चारमाध्यम र पत्रकारहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने वा त्रास सिर्जना गर्ने उद्देश्यबाट गरिने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताविरुद्ध भएको उल्लेख गरेको छ।
पार्टीले स्वतन्त्र र निर्भीक पत्रकारिता लोकतन्त्रको आधार भएकाले सूचना तथा सञ्चार स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेको छ। साथै सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अंगलाई संकुचित पार्ने उद्देश्यका गतिविधिको भर्त्सना गरेको छ।
रास्वपाले नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायलाई घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिको पहिचान गरेर कानुनबमोजिम कारबाही गर्न तथा सञ्चारमाध्यम र सञ्चारकर्मीको भौतिक एवं मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा पत्रकार तथा सञ्चार संस्थालाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन अपिल गर्दै रास्वपा प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाको पक्षमा सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ।











प्रतिक्रिया