पापाराजीसँग रिसाइन् सोनाक्षी, भनिन्–तपाईंहरू नहटेसम्म कारमा बस्दिनँ


मुम्बई ।

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा सामान्यतया सञ्चारकर्मी र पापाराजीसँग मित्रवत् व्यवहारका लागि परिचित छिन्। तर यसपटक भने उनले पापाराजीप्रति असन्तुष्टि जनाउँदै कारमा चढ्नै अस्वीकार गरेकी छन्।

आइतबार मुम्बईमा अभिनेत्री आकांक्षा रञ्जन र निर्देशक शरण शर्माको विवाहपछिको स्वागत समारोहमा सहभागी भएकी सोनाक्षी बाहिरिने क्रममा यो घटना भएको हो। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनी कारतर्फ जाँदा पापाराजीले लगातार तस्बिर र भिडियो खिचिरहेका देखिन्छन्।

त्यसपछि सोनाक्षीले कारमा नचढी पापाराजीलाई रोक्न आग्रह गरिन्। उनले भनिन्, “बस, साथीहरू। अब कारभित्रसम्म आउनु पर्दैन। पुग्यो। धन्यवाद। बाइ। शुभरात्रि।”तर त्यसपछि पनि फोटोग्राफरहरू नहटेपछि उनले स्पष्ट रूपमा भनिन्, “तपाईंहरू नहटेसम्म म कारमा बस्दिनँ।”अन्ततः पापाराजी केही पर हटेपछि मात्र सोनाक्षी कारमा चढेकी थिइन्। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ।

यो पहिलो पटक भने होइन, जब सोनाक्षीले पापाराजीको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेकी हुन्। केही दिनअघि पनि उनले आफ्ना बुबा शत्रुघ्न सिन्हा र आमा पुनम सिन्हालाई घेराबन्दी गर्दै अत्यधिक नजिक पुगेका पापाराजीलाई फट्कार लगाएकी थिइन्। त्यतिबेला उनी पति जहीर इकबाल तथा आफ्ना आमाबुबासँग डिनर सकेर बाहिरिँदै थिइन्।कामको कुरा गर्दा, सोनाक्षीले सन् २०१० मा सलमान खानसँगको फिल्म दबंग मार्फत बलिउडमा डेब्यु गरेकी थिइन्। त्यसपछि उनी राउडी राठौर, लुटेराअकिरा लगायतका फिल्ममा देखिइसकेकी छन्।हालै उनी प्राइम भिडियोमा सार्वजनिक भएको फिल्म सिस्टम मा देखिएकी थिइन्। आगामी दिनमा भने उनी चर्चित वेब सिरिज दहाड को दोस्रो सिजनमा अभिनय गर्दैछिन्।