६ बुँदे मागसहित मिटरब्याज पीडितको पैदल यात्रा काठमाडौंतर्फ

0
Shares

रौतहट। 

 सरकारसमक्ष ६ बुँदे माग राख्दै न्यायको खोजीमा मिटरब्याज पीडितहरू पैदल यात्रा गर्दै काठमाडौंतर्फ अघि बढिरहेका छन् । असार २५ गते जनकपुरबाट सुरु भएको यात्रा चन्द्रनिगाहपुर हुँदै राजधानीतर्फ अघि बढेको हो । न्याय माग्दै काठमाण्डौ पैदल जाँदै गरेका मिटरब्याज पीडितहरुले सरकार संग आक्रोश पोखेका छन । पीडितहरूले सरकारसमक्ष बुझाएको ६ बुँदे मागपत्रमा मिटरब्याजसँग सम्बन्धित नक्कली तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन पासलगायतका कागजात खारेज गर्नुपर्ने, मिटरब्याजविरुद्ध शक्तिशाली विशेष आयोग गठन गर्नुपर्ने, विशेष न्यायाधिकरण स्थापना गरी पीडितका मुद्दाको छिटो टुंगो लगाउनुपर्ने, अवैध रूपमा कब्जा गरिएको सम्पत्ति फिर्ता गरिनुपर्ने तथा पीडितका लागि न्यायपूर्ण आर्थिक पुनस्र्थापना कार्यक्रम ल्याउनुपर्ने माग समावेश छन् । उनीहरुले माग पुरा नभएसम्म काठमाण्डौ बाट नफकर्ने उदघोष गरेका छन । 

यसअघि गृह मन्त्रालयमा भएको छलफलमा मिटरब्याज अपराध नियन्त्रणका लागि स्थानीय तहदेखि केन्द्रीय तहसम्म संयन्त्र सक्रिय बनाउने, पीडितको सम्पत्तिको छानबिन गर्ने, आत्महत्यासम्म पुग्न बाध्य भएका परिवारलाई राहत उपलब्ध गराउने तथा ऋणी–साहुबीचका विवाद कानुनी प्रक्रियाबाट समाधान गर्ने विषयमा सहमति भएको थियो। तर पीडितहरूले ती सहमतिहरू कार्यान्वयन नभएको र सरकारका प्रतिबद्धता कागजमै सीमित रहेको आरोप लगाउँदै आन्दोलनलाई निरन्तरता दिएका छन् । 

यात्रामा सहभागी धनुषाको नगराइन नगरपालिका–४ का ७५ वर्षीय रामनन्दन प्रसाद सिंहले सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै भने, æगाउँघरका सुदखोर मात्रै होइनन्, राज्य नै सुदखोर हो । हामीलाई लुट्नेहरूलाई राज्यले नै संरक्षण गरेको छ ।

उनीसँगै धनुषाकै लक्ष्मिनिया गाउँपालिका–१ का ८५ वर्षीय छेदु यादव पनि न्यायको खोजीमा पैदल यात्रामा सहभागी छन्। बुढ्यौली उमेर, लगातारको वर्षा र कठिन यात्राका बाबजुद उनीहरू आफ्नो आन्दोलनमा अडिग छन्। उनीहरूको मुख्य माग मिटरब्याज पीडितलाई न्याय दिलाइनु र लुटिएको सम्पत्ति फिर्ता गरिनु हो ।