प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित


काठमाडौं।

नेपालले मलेसियामा जारी एसीसी महिला यु–१९ प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । अघिल्लो दिन कतारमाथि जित हासिल गरेको नेपालले आइतबार सिंगापुरलाई १ सय ५१ रनले हराएको हो । नेपालले मंगलबार हङकङसँग खेल्नेछ ।

नेपालले जितको लागि २ सय रनको ठूलो लक्ष्य दिएको थियो । जवाफमा सिंगापुरले ४८ रन मात्रै बनाउन सकेको थियो । अंकिता वर्षा राजले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाली बलिङमा अनु कडायतले घातक बलिङ गरेकी थिइन् । उनले ४ ओभरमा ४ रन दिएर ३ विकेट लिएकी थिइन् । मनिषा उपाध्याय र रिया शर्माले समान २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट सुरक्षित राखेर १ सय ९९ रन बनाएको थियो । ओपनरद्वय सना परवीन र सावित्री धामीले अर्धशतक प्रहार गरे । उनीहरू एक रनले २ सयको साझेदारी गर्न विफल भए ।

सना पनि २ रनले शतक बनाउन चुकेकी थिइन् । ७० बलको सामना गरेका उनले ९८ रन बनाएकी थिइन् । उनले १३ चौका प्रहार गरेकी थिइन् ।
यस्तै, सावित्रीले १३ चौकाको सहयोगमा ७८ रन जोडेकी थिइन् । उनले यसअघिको खेलमा पनि अर्धशतक प्रहार गरेकी थिइन् । उनले कतारविरूद्ध ५२ रन बनाएकी थिइन् ।