समिर र चेतना कोहलपुर माइलमा पहिलो


नेपालगञ्ज।

एम्स वन ग्लोबल माइल अन्तर्गत शनिवार भएको कोहलपुर माइल (१.६ किमी) दौडमा समिर बस्नेत र चेतना बस्नेत पहिला भएका छन् ।
कोहलपुरमा भएको पहिलो अन्तर्राष्ट्रिय संस्थासँग आवद्धता प्राप्त प्रतियोगिताअन्तर्गत् स्कुल स्तरीय छात्रतर्फ समिर पहिलो भएका हुन् । यस्तै, सुगम चौधरी दोस्रो, करण सिकर्मी तेस्रो र सन्देश बुढाथोकी चौथो भए । छात्रातर्फ चेतना अग्रस्थानमा आउँदा सलिना थारु दोस्रो, नियुक्ती गुरुङ तेस्रो र एन्जल सुनार चौथो भए ।
किड्स रन गल्र्स (८ देखि १२ बर्ष उमेर समुह) तर्फ मान्वी चौधरी, बिपना बुढा, नबिना थापा र ग्रीष्मा शाही तथा किड्स छात्र (८ देखि १२ बर्ष)सम्म समुहमा मिलन कैला, अब्दुल्लाह खान, अमृत बिक र दिनेश कैला शीर्ष चार स्थानमा आए । विजयी खेलाडीलाई ४ हजार, ३ हजार, २ हजार र १ हजार तथा ट्रफीले पुरस्कृत गरियो।

अमेरिकाको न्युयोर्कस्थि ह्युडसन माइलको बिस्तारित रुप नै वन ग्लोबल माइल हो । ‘एक दिन एक माइल एक विश्व’ नारासहित दौड संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले ११ जुलाईमा ११ देशका विभिन्न सहरमा एकैपटक ‘वन ग्लोबल माइल’आयोजना गरिएको हो ।

विश्व रनिङको विश्वव्यापी संगठन एसोसियन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले वन ग्लोबल माइल विश्वभर प्रवद्र्धन गरिरहेको छ । यसलाई म्याराथनको सुरुवाती कदमका रुपमा लिइन्छ । अन्य देशमा एक सहरमा आयोजना भएपनि नेपालमा मात्र दुई सहर कोहलपुर र काठमाडौंमा काठमाडौं माइल आयोजना भएको हो ।

शनिबार नै एम्स ग्लोबल माइल अन्तर्गत काठमाडौं माइल सम्पन्न भएको छ । काठमाडौं माइलका डाइरेक्टर कपिल थापाका अनुसार एक माइल दौडले सहभागीलाई लामो दौडतर्फ आकर्षित गर्नेछ ।

साथै, ग्लोबल अभियान अन्तर्गत भएकाले हरेक सहभागीलाई एम्स प्रेसिडेन्ट पाको बोराओ र वन ग्लोबल माइलका संस्थापक जोन बोकाले हस्ताक्षर गरेको प्रमाणपत्र पाउँदा त्यसको महत्व हरेक सहभागीले अनुभुति गरेको डाइरेक्टर थापाले बताए ।