मकवानपुरमा कर्रा खोलाको बाढीले ट्रक बगायो, चालक पौडिएर सकुशल बाहिरिए


हेटौंडा।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले सोमबार बिहान एउटा १२ चक्के ट्रक बगाएको छ। ट्रक चालक भने पौडिएर बाहिर निस्कन सफल भएका छन्।

प्रहरीका अनुसार शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको ट्रक बिहान करिब ७ः४५ बजे कर्रा खोला पार गर्ने क्रममा बाढीमा परेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार खोला पार गर्न ह्युमपाइप राखेर बनाइएको अस्थायी कल्भर्ट (लच्का) माथिबाट पानीको बहाव एकाएक बढेपछि ट्रक बगाएको हो।

ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी ३४ वर्षीय दीपक थिङले समयमै ट्रकबाट बाहिर निस्केर पौडिँदै आफ्नो ज्यान जोगाएका प्रहरीले जनाएको छ।

बाढीबाट उम्कने क्रममा उनको खुट्टामा सामान्य चोट लागेको छ। हाल हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित एक मेडिकलमा उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।