आगामी भदौ १९ गते रिलिजमा आउने फिल्म बाः एक योद्धाका कलाकारलाई एक–एक गर्दै सार्वजनिक गरिए पनि कथाको केन्द्रमा रहेका ‘बा’ अर्थात् मुख्य पात्रलाई अझै रहस्यमै राखिएको छ।
नेपाली समाजको यथार्थलाई कथाको आधार बनाएको फिल्ममा परिवारमा सन्तानको भविष्यका लागि बुबाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई फिल्मको मुख्य विषय बनाइएको छ। निर्माण पक्षले हालसम्म फिल्मका अधिकांश कलाकार सार्वजनिक गरिसकेको छ। केही दिनअघि मात्रै सागर खनाल, शिशिर शिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको नाम सार्वजनिक गरिएको थियो। त्यसअघि झरना थापा, सुहाना थापा र अभिनेता दिव्यदेव पन्तलाई फिल्ममा अनुबन्ध भएको जानकारी दिइएको थियो। तर यी बाको परिचय भने गोप्य राखिएको छ।

फिल्मको छायांकन सम्पन्न भइसकेको छ भने पोस्ट–प्रोडक्सनको काम पनि सुरु भइसकेको निर्माण पक्षले जनाएको छ। हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा रिलिजमा आउनेछ। फिल्मको कथावस्तुसंग रिलिज डेटलाई जोड्दै निर्माण पक्षले भदौ १९ लाई रोजेको हो।
नेपाली संगीत क्षेत्रमा दर्जनौं लोकप्रिय गीत दिएका संगीतकार, गीतकार तथा गायक हरि लम्सालको यो पहिलो निर्देशकीय फिल्म हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालद्वारा निर्मित फिल्ममा कथा र पटकथा पनि उनैले लेखेका हुन्। शिवराम श्रेष्ठको छाया“कन रहेको फिल्मको वितरण आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।











प्रतिक्रिया