काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

नीति, योजना तथा कार्यक्रम कार्यान्वयनमा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्व स्मरणीय छ – कार्यवाहक प्रमुख, डंगोल


काठमाडौँ । 

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि सेवा निवृत्त हुनुभएको छ । गुरागाईँले, २०८१ भाद्र २७ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार २०८१ असोज ७ गते काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा पद वहाली गर्नुभएको थियो । उमेरका कारण आजदेखि उहाँ अनिवार्य अवकाशमा जानुभएको हो । 

महानगरपालिकाले आज उहाँलाई बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, कार्यपालिका सदस्यहरु, विभागीय प्रमुखहरु, महाशाखा प्रमुखहरु सहभागी हुनुहुन्थ्यो । बिदाइ कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले, कर्मचारी, जनप्रतिनिधि र साझेदार निकायसँग सहकार्य, समन्वय र सहअस्तित्वका लागि गुरागाईँले गर्नुभएको प्रशासनिक नेतृत्व काठमाडौँ महानगरपालिकाले स्मरण गरिरहने बताउनुभयो । 

‘पद अस्थायी हो । सेवा स्थायी हो ।’ कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘पदीय दायित्व सकिए पनि सेवा सकिँदैन । सेवा निवृत्त जीवनमा यहाँको सेवा यात्रा अझ परिष्कृत हुने अपेक्षा गरेका छौँ ।’ 

काठमाडौँ महानगरपालिकाको इतिहासमा उहाँ (गुरागाईँ) नै प्रमुख प्रशासकीय अधिकृत पदबाट सेवा निवृत्त पहिलो अधिकारी हुनुहुन्छ । कार्यक्रममा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले भन्नुभयो, ‘महानगरपालिकाको संस्थागत विकासका लागि यहाँको ज्ञान, सिप र अनुभव काम लाग्छ । यहाँबाट त्यसप्रकारको सेवाको अपेक्षा गरेका छौँ ।’

बिदाइ अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, आफ्नो साढे ३२ वर्षे सेवा अवधिमा काठमाडौँ महानगरपालिकामा सेवा गरेको अवधि सबैभन्दा स्मरणीय रहेको बताउनुभयो । ‘प्रशासनिक सेवामा आउने उतारचढाव कर्मचारीका लागि स्वभाविक हुन् । मैले सहज रुपमा लिएको छु ।’ उहाँको भनाइ थियो ।  

२०५१ साल पुस १९ गते शाखा अधिकृत पदबाट सङ्घीय निजामती सेवामा प्रवेश गर्नुभएका गुरागाईँको सेवा कालको सबैभन्दा धेरै समय स्थानीय सेवामा वित्यो । त्यस क्रममा उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब २ वर्ष र स्थानीय तहमा करिब २१ वर्ष सेवा गर्नुभयो ।

 काठमाडौँ महानगरपालिका आउनु अघिका करिब ७ वर्ष उहाँले उद्योग मन्त्रालय अन्तर्गतको सेवा गर्नुभयो । महानगरपालिका आउनु अघि पनि उहाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको ‘समृद्धि आयोजना’ को प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले करिब ४ महिना गृह मन्त्रालयको सेवा अन्तर्गत प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गर्नुभएको छ । 

२०७६ फागुन १३ गते नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त हुनु भएको थियो ।