ब्रेन ट्युमरको शल्यक्रिया सफल, दीपाश्री निरौला चिकित्सकीय निगरानीमा


काठमाडौं ।

अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ।

ब्रेन ट्युमरको समस्या देखिएपछि उनी गत मङ्गलबारदेखि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत रहेकी थिइन्। उनको वरिष्ठ न्युरोसर्जन वसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको हो।

उनका नजिकका सहकर्मी कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत शल्यक्रिया सफल भएको जानकारी दिएका छन्। उनले दीपाश्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उल्लेख गर्दै छिट्टै पूर्ण स्वास्थ्य लाभको कामना गर्न सबैलाई आग्रह गरेका छन्।

अस्पताल स्रोतका अनुसार शल्यक्रियापछि निरौलालाई चिकित्सकहरूको निगरानीमा राखिएको छ र स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

दीपाश्री निरौला नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री, निर्देशक तथा हास्य कलाकार हुन्। उनले निर्देशन गरेको ‘छक्का पञ्जा’ श्रृंखला नेपाली चलचित्र उद्योगका सर्वाधिक सफल फिल्महरूमध्ये एक मानिन्छ। उनका शुभेच्छुक तथा फिल्मकर्मीहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्।