प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताको  उपाधि झापाका प्रकाशचन्द्रलाई

0
Shares

खोटाङ। 

 कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिताका उपाधि झापाका प्रकाशचन्द्र नेपालले जित्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजना, तथा प्रदेश खेलकुद विकास बोर्ड विराटनगर कोशी प्रदेशको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको उपाधि प्रकाशचन्द्रले जित्नुभएको हो ।

जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा दिक्तेलबजारमा आयोजित प्रतियोगितामा आठ जिल्लाका ६१ जना सहभागीलाई पराजित गर्दै नेपाल प्रथम हुनुभएको हो । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनुभएको नेपाललाई ३० हजार रुपैंयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कृत  गरिएको प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जनाउनुभयो ।

कोशी प्रदेश बुद्धिचाल संघ सह–आयोजक तथा जिल्ला बुद्धिचाल संघ खोटाङको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा धनकुटाका सुमन श्रेष्ठ द्धितीय र सुनसरीका ललितबहादुर राई तृतीय हुनुभएको आयोजकले जनाएको छ । उहाँहरुलाई क्रमशः १५ हजार, दश हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

दशौँ स्थानसम्म हासिल गर्ने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा मोरङका उमेश राई चौथो, झापाका ज्वाला इम्बुङ पाँचौँ र इलामका सुरेन्द्रकुमार राई छैटौँ हुनुभएको छ् । उहाँहरुलाई क्रमश : नगद रु आठ हजार र रु सात हजारको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । यस्तै, खोटाङका धिरेन राई सातौँ तथा खिलाराज राई आठौँ, सुनसरीका किशोरदेव राई नवौँ र हलेसीका मेजर राई दशौँ हुनुभएको छ । उहाँहरुलाई जनही नगद पाँच÷पाँच हजारको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

सात समूहमा विभाजन गरेर फरक–फरक विद्यामा पुरस्कृत गर्नेगरी आयोजना गरिएको प्रतियोगिता अन्तरगत महिलातर्फ कुसुम घिसिङ प्रथम, लिरा सेनेहाङ द्धितीय र तपस्या कार्की तृतीय हुनुभएको छ । उहाँहरुले क्रमशः नगद सात हजार, पाँच हजार र चार हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रात गर्नुभएको छ।

विद्यार्थीतर्फ राकेश आचार्य प्रथम, कमल राजभण्डारी द्धितीय र सुशासन राई तृतीय हुनुभएको जनाइएको छ । उहाँहरुलाई नगद पाँच हजार, चार हजार र तीन हजार रुपैंयाँ नगदसहित ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिएको  छ ।  

खोटाङ जिल्लातर्फ मनकुमार राई प्रथम हुँदै चार हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकातर्फ आयुष राई प्रथम हुँदै तीन हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । उमेर समूहतर्फ १६ वर्ष मुनिका अभिशेक आचार्यलाई चार हजार तथा १२ वर्ष मुनिका क्रिशल प्रधानलाई नगद तीन हजार रुपैंयाँ प्रदान गरिएको जनाइएको छ ।

स्वीस लिग फरम्याट (स्वीजरल्याण्डमा प्रचलित नियम) अन्तरगत आयोजना गरिएको प्रतियोगितामा प्रदेशभरका खेलाडीमध्ये हिल च्याम्पियन निङ्मा शेर्पालाई नगद चार हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले बताएको छ । प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगितामा आठ जिल्लाका ६२ जना खेलाडीको सहभागिता थियो ।