आनौठो पहिचान बोकेको ‘सिङ्गे भूमिथान’

0
Shares

रसुवा ।

हिमाली जिल्ला रसुवा प्राकृतिक छटाले मात्र नभई धार्मिक, पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले समेत धनी मानिन्छ । तर यहाँका कैयौँ महत्वपूर्ण धार्मिक स्थलहरू उचित प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेका छन् । तीमध्ये गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेगाउँमा अवस्थित ऐतिहासिक ‘सिङ्गे भूमिथान’ को महिमा हालसम्म स्थानीय स्तरमा मात्रै सीमित रहन पुगेको छ ।

स्थानीय बूढापाकाका अनुसार यो भूमिथान आफैँ उत्पत्ति भएको एक अलौकिक शिला हो । अन्य देवी–देवताको तुलनामा यसको महिमा र पूजा पद्धति निकै फरक तथा कडा किसिमको रहेको बताइन्छ ।

स्थानीय बासिन्दा साप ग्याल्बोका अनुसार ‘सिङ्गे भूमिथान’ र ‘छङ्गमदेवी’ लाई एक–आपसमा श्रीमान्–श्रीमतीका रुपमा मानिन्छ । पौराणिक कालमा यी बूढाबूढीबीच आपसी असमझदारी बढेपछि उनीहरू छुट्टिएर बसेको जनविश्वास छ ।

महिला र रातो रङ्ग निषेध :

यस भूमिथानको पूजाआजा गर्ने परम्परा पनि निकै फरक छ । यहाँ पूजा अर्चना गर्दा भक्तजनहरूले रातो लुगा लगाउन र रातो अबिर प्रयोग गर्न पूर्णरूपमा निषेध गरिएको छ । धार्मिक संवेदनशीलताका कारण यस स्थानमा महिलाहरू जान नहुने कडा नियमसमेत रहेको छ । विशेष गरी विशुद्ध अक्षता र गाईको दूध चढाएर यहाँ पूजाआजा गर्ने परम्परा रहिआएको छ ।
स्थानीय पहिचान र त्रिशूली प्रवाह क्षेत्रको यो ऐतिहासिक सम्पदालाई राष्ट्रिय स्तरमा चिनाउन सके रसुवामा धार्मिक पर्यटनको थप विकास हुने स्थानीयवासीको भनाइ छ ।